फागुन १५,रत्ननगर ।
रत्ननगरमा सोमबारदेखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुँदैछ । रत्ननगर महोत्सव अन्तर्गत नै फेष्टिबल आयोजना गरिएको हो ।
वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले फुड फेष्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
आयोजक रत्ननर उद्योग वाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरी फेष्टिबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । टाँडी चोक र सौराहा चोकको बीचमा पर्ने बसपार्कसँगैको ठाउँमा फेस्टिवल आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।
फेस्टिबलमा ३० वटा स्टल रहने छन् । जसमा २० वटा स्टलमा अण्डा र १० वटामा कुखुराको मासुको परिकार उपलब्ध हुनेछन् । कुखुराको मासु र अण्डाका साथै माछा र बुंगुरको परिकार, नेवारी एवम् थारु समुदायका खानाका परिकारसमेत उपलब्ध हुने फुड फेस्टिबलका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए । पोल्ट्री र माछाको खपत बढाउने र यसको उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।
फेष्टिबलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने बताइएको छ ।





