भरतपुर,१५ फागुन ।
चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा तीन दिनसम्म चलेको प्रदर्शनी आइतबार सम्पन्न भएको हो ।
तीन दिनमा २० हजार भन्दा बढी कृषकले प्रदर्शनी अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ, रुपन्देही, पूर्वको मोरङसम्मका ४० बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनी अवलोकन गरेको उनले जानकारी दिए ।
आइतबार अन्तिम दिन प्रदेश १ को कृषि सचिव, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, कृषक समूह महासंघ, कृषक सहकारी संघलगायतले अवलोकन गरेका थिए । उनीहरुले नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी आयोजना भएकोमा खुशी व्यक्त गरेको भट्टराईले बताए ।
प्रदर्शनीमा नेपाली कम्पनीहरुले कृषिका स-साना औजार, बिउबिजन, डेरी, पोल्ट्री तथा थोपा सिचाईका सामाग्रीहरु प्रदर्शनमा राखेका थिए । यस्तै विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँनयाँ अटोमेटिक मेसिनहरु पनि प्रदर्शनीमा राकिएको थियो । उता विदेशी कम्पनीहरुले विदेशमा प्रयोगमा आएका नयाँ–नयाँ मेसिनहरु प्रदर्शनीमा राखेका थिए ।
एउटै छाना मुनी देशभरका कृषकहरु सहभागी भएकोले ती कम्पनीहरुलाई आफ्नो उत्पादनको विज्ञापन तथा बजारिकरणमा धेरै फाइदा पुगेको उनले बताए । धेरै कम्पनीहरुले अग्रिम बुकिङ गरेको समेत उनले जानकारी दिए । यस्तै कृषकहरुले पनि एउटै छाना मुनी स–साना औजार देखि ठूला मेसिनहरु बारे जानकारी लिने अवसर पाएको उनको भनाइ छ ।
यस पटकको प्रदर्शनीमा फुड र वेवरेजको छुट्टै परिसरको व्यवस्था गरिएको थियो । उक्त परिसरमा होटल तथा रेष्टुँरामा प्रयोग हुने नयाँ मेसिनहरु प्रदर्शनमा राखिएको थियो । त्यस्ता मेसिन तथा सामग्रीहरुको विज्ञापनमा पनि प्रदर्शनी उपयोगी भएको उनले बताए ।
प्रदर्शक र अवलोकनकर्ता कृषकहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । भट्टराईका अनुसार धेरै कम्पनीले आगामी संस्करणको प्रदर्शनीमा पनि सहभागी हुने प्रतिवद्धता जनाएका छन् ।
यस पटकको प्रदर्शनीमा अघिल्ला संस्करण भन्दा धेरै कृषकहरुले अवलोलन गरेको उनले बताए । यसले कोभिड महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत मिल्ने उनको विश्वास छ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका थिए । प्रर्दशनी कृषिका नवीनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरीलगायतका विषयमा केन्द्रित रहेको थियो ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने ससाना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरु प्रदर्शनमा राखिएको थियो ।
प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन लिएका थिए । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।





