काठमाडौँ, १५ फागुन ।
प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल सकिएको छ भने आइतबार साँझ ६:३० बजे हुने अर्को बैठकमा एमसिसीसम्बन्धी मतदान हुने भएको छ ।
एमसिसीका सम्बन्धमा सत्तारुढ गठबन्धनले ल्याएको व्याख्यात्मक टिप्पणी पास गरी प्रतिनिधिसभामा पेश गर्न संसद भवनमै आइतबार साँझ मन्त्रिपरिषद् बैठक हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकले एमसिसीमाथिको ११ बुँदे व्याख्यात्मक टिप्पणी पारित गर्नेछ । सोही आधारमा संसदमा एमसिसीमाथि मतदान हुने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
ढिलो गरी सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा एमसिसीमाथि सत्ता पक्ष र विपक्षका धारणाहरु प्रस्तुत भएका थिए ।
एमसिसीमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, मााओवादी र समाजवादीले मतदान गर्ने सहमति भइसकेको स्रोतले जानकारी दिएको छ । यद्यपि माओवादीका दुई सांसदहरु गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले भने एमसिसीका विपक्षमा मतदान गर्नेछन् ।





