फागुन १४, राप्ती ।
भण्डारा दुग्ध उत्पादक सहकारीको २४औँ साधारणसभाले उद्घाटन सत्र मात्र सम्पन्न गरेको छ । शनिबार भण्डारा माविको प्राङ्गणमा सहकारीको साधारणसभाको दोस्रो सत्र अन्तर्गतको बन्दसत्र सञ्चालन हुन सकेन । समय अभावको कारण बन्दसत्र सञ्चालन नभएको र अर्को सूचना नआउन्जेलसम्मको लागि स्थगित गरिएको आयोजक संस्थाले बताएको छ ।
सभाको उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले विश्वव्यापी सहकारीको मूल्यलाई आत्मसाथ गरि सहकारीको अभियानलाई गतिशीलता प्रदान गरेको बताए । संस्थाले निशुल्क गर्भाधान, सिङ मार्ने, गर्भ परिक्षण गर्ने, पशुधन सुरक्षण कार्यक्रम जस्ता कामलाई निरन्तरता दिइएको पनि उनले बताए ।
“प्रदेश सरकारबाट प्रतिलिटर दूधमा दिइएको अनुदान रकम यस आव ०७६/०७७ मा वृद्धि भइ २ रुपैयाँका दरले उपलब्ध भएको ५६ लाख ३६ हजार १ सय ४८ रकम कृृषकहरुलाई वितरण गरिएको छ ।” उनले भने ।
अध्यक्ष थपलियाले संस्थाका भावी योजनाहरु पनि प्रस्तुत गरेका थिए । दुग्ध उत्पादक कृषकहरुलाई शेयर सदस्य प्रदान गर्ने, पोसिलो घाँसको बीउमा अनुदान उपलब्ध गराउने, गुणस्तरीय पशु आहार उपलब्ध गराउने, तालिम तथा अनुदानका कृषि उपकरणहरु उपलब्ध गराउने उनले बताएका छन् ।
सभामा आव २०७८/०७९ का लागि गरिने कार्यक्रम संस्थाका सचिव हरिकुमार दनैले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रगति विवरण प्रस्तुत कोषाध्यक्ष हरिमाया उप्रेतीले गरेकी थिइन् ।
सभाका प्रमुख अतिथिको रुपमा पूर्व प्रदेश मन्त्री दावा दोर्जे लामा रहेका थिए । नगर प्रमुख प्रभा बराल, उप प्रमुख इमानसिंह लामा, विभिन्न वडाका वडाध्यक्षहरु, राप्तीका विभिन्न दुग्ध संस्थाका अध्यक्षहरु, सहकारीसंस्थाका प्रतिनिधिहरु लगायत शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभाको पहिलो सत्र सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाको अध्यक्षतामा सञ्चालन भएको सभाको सञ्चालन लेखा समिति संयोजक लक्ष्मण बर्तौलाले गरेका थिए ।





