टिकौलीचौरमा आजदेखि रत्ननगर महोत्सव

रत्ननगर, १४ फागुन ।
रत्ननगर नगरपालिकामा रत्ननगर महोत्सव- २०७८ को नयाँ शृङ्खला आइतबारदेखि सुरु हुँदैछ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन १५ देखि २३ गतेसम्म हुने जानकारी दिएको हो ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले गर्नेछन् । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनले स्थगित गराएको महोत्सव आइबारदेखि हुन लागेको हो । पुस २७ गतेदेखि माघ ८ गतेसम्म तय गरिएको महोत्सव कोरोना भाइरसको कारण अघिल्लो दिन स्थगित भएको थियो ।
महोत्सवको तयारी पूरा भैसकेको महोत्सव मूल आयोजक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

यो ११ औ संस्करणको महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४२५ स्टलहरु रहेका छन् ।
समग्र आर्थिक क्रियाकलापमा गतिशीलता ल्याउन, स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरुको बजार पहिचान गरि नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रवर्द्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रचार प्रसारको लागि यो महोत्सव महत्त्वपूर्ण भएको पनि उनले बताएका छन् । यसपटकको महोत्सवमा करिब १५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवले बृहत् व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । त्यस्तै महोत्सवमा अन्य आकर्षणको रुपमा जीप साइक्लीङ र राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता पनि रहेको छ ।

“रत्ननगर महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयमान तथा अवसरबाट वञ्चित प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ । यस बर्ष अझ भव्य र व्यवस्थित साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको छ” संयोजक श्रेष्ठले भने ।

महोत्सवलाई पूर्ण अत्याधुनिक सिसिटीभीबाट निरीक्षण गरिने र ५ करोड बराबरको बिमाको व्यवस्था गरिएको छ । महोत्सवले कृषि र पर्यटनलाई प्राथमिकता दिएको आयोजक समितिले बताएको छ । यस पटक महोत्सवमा टिकट शुल्क सर्वसाधारण तर्फ ५० रुपैयाँ र विद्यार्थीको लागि २५ रुपैयाँ शुल्क राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट