राप्ती, १२ फागुन।
चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले एक बालकको अभिभावकत्व ग्रहण गरेका छन् । राप्ती नगरपालिकाको कार्यालयमा सरसफाइको काम गर्ने दुर्गा चौधरीको निधन भएपछि उनको छोराको अभिभावकत्व लामाले ग्रहण गरेका हुन् ।
भण्डारा माविमा कक्षा ७ मा अध्ययनरत मौसम चौधरीलाई कक्षा १२ सम्म पढाइका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यक्तिगत रुपमा गर्ने जिम्मेवारी उपमेयर लामाले लिएका हुन् ।
‘परिवारको अवस्था कमजोर भएकोले मृतक चौधरीको छोरालाई माध्यमिक तहसम्म पढाउने जिम्मा लिएको हुँ ।’ उपमेयर लामाले बताए । आवश्यक परेको हरेक ठाउँमा आफूले सहयोग गर्दै आएको र अझै गर्दै जाने पनि उनले बताए ।
अत्यन्तै विपन्न परिवारकी दुर्गा चौधरी हृदयाघात भएर मृत्यु भएको थियो । मृतक चौधरीको घरमा किरिया गर्न समेत समस्या रहेकोले उपमेयर लामा सहित नेकपा एमाले राप्ती नगर अध्यक्ष पुर्ण बहादुर थापा, नगर ईञ्चार्ज सीताराम बल, वडा(६ संयोजक पुरेन्द्र चौधरी चामल, तेल लगायतका खाद्यान्न सामाग्री लिएर पुगेका थिए ।





