जबसम्म कुनै राष्ट्रले आफ्नो दर्शन, मौलिकता र आफूसँग उपलब्ध साधनस्रोतको पहिचान, संरक्षण एवं सदूपयोग गर्न सक्दैन तबसम्म त्यो राष्ट्रले समृद्धिको कुरा गर्नु मिथ्या प्रचारबाजी मात्रै हुन्छ र त्यस्तो अवस्थामा त्यस राष्ट्रका सरकार तथा राजनैतिक दलहरुले समृद्धिको कुरा गर्नु चुनावीसभामा जनता झुक्याउन गरिने भाषण मात्रमा सिमित हुन जान्छ। आज अरब मुलुकहरुले आफूसँग भएको अपार तेलभण्डारको सदूपयोग नगरी आफ्नो मिहिनेत अन्यत्रै खर्च गरेको भए ती राष्ट्रहरुको अवस्था पनि हाम्रै जस्तो हुने थियो। हामीसँग भएको अपार जडिवुटिको सदूपयोग नगरी समृद्धि अन्यत्र खोज्नु नै हाम्रो देशको लागी ठूलो दूर्भाग्य हो।
पूर्वीय दर्शनहरु हाम्रो धरोहर हो, वेदहरु ज्ञानका असिमित भण्डार हुन, सोही वेदहरुमध्येका अथर्ववेदबाट बनाईएको आयुर्वेद हाम्रो जीवनसँग सम्बन्धित सम्पूर्ण ज्ञानको संकलन हो। आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरिराख्ने र रोगीको रोगनिवारण गर्ने सम्पूर्ण उपायहरु स्पष्ट रुपमा वर्णन गरिएको छ । परापूर्वकालदेखि नै मानवजगतको रक्षा गरिराख्ने आयुर्वेद हाम्रो देशको त मौलिक चिकित्सा पद्धति नै हो। स्वास्थ्यसँग सरोकार राख्ने विद्यमान आयुर्वेद, एलोपैथी, होमियोपैथी, यूनानी, सिद्धा आदि चिकित्सापद्धतीहरुमध्ये संसारकै सबैभन्दा पूरानो चिकित्सा पद्धति आयुर्वेद नै हो जसको उत्पत्ति करिब ५००० बर्ष पहिले भएको हो। आयुर्वेद उत्पत्तिकालका असँख्य घटनाहरु नेपालकै भूमिमा भएको उल्लेख्य प्रमाणहरु छन्। यो नेपाल, भारत र श्रीलंका लगायतका भारतीय उपमहाद्विपमा पर्ने देशहरुको साझा तथा मौलिक चिकित्सापद्धती हो।
धेरै नेपालीहरु त आफूलाई आत्रेय मूनिको सन्तान भनेर आफ्नो नामको पछाडी आत्रेय लेख्ने गरेका छन जबकि महर्षि आत्रेय त आयुर्वेद प्रचारक ऋषिहरुमध्येका एक प्रमुख पात्र नै हुन्। आयुर्वेद उत्पत्तिकालमा विद्वान ऋषिहरुबीच हिमालयमा सभासम्मेलन हुन्थ्यो जबकि हिमालयहरु त हाम्रो देशको पहिचान नै हो र हिमालयका जडिबुटीहरु संसारकै उत्कृष्ट जडिबुटी मानिने कुरामा विश्वसमूदायमाझ कुनै सन्देह नै छैन।
त्यसैगरी योग त पूर्वीय दर्शनको गहना नै हो जसको मानव स्वास्थ्य एवं रोगनिवारणमा आफ्नै विशेषता छ र योगका प्रवर्तक महर्षि पतञ्जलि त नेपालमै जन्मेको थुप्रै प्रमाणहरु भेटिएको समाचारहरु पढ्न पाईन्छ। आयुर्वेद र योगसम्बन्धि बिभिन्न घटनाक्रमहरु नेपाल, भारत, श्रीलंका,बर्मा लगायतका भारतीय उपमहाद्विपमा पर्ने देशहरुमा घटेका छन्। यी विधाहरुका केही पौराणिक ग्रन्थहरु हाम्रो देशमा छन् भने केही अरु राष्ट्रहरुमा छन्।
यसरी सबैको साझा सम्पति भएकोले यसको बिकास गर्नु सबैको साझा कर्तव्य हुन जान्छ। खासगरि कृषिप्रधान देश, हिमालयको देश, जडिवुटिको देश भनिने हाम्रो देशको समृद्धिको एकमात्र आधार पनि यी नै हुन्। कृषि एवं जडिवुटिमय नेपालको निर्माण र सोसम्बन्धित व्यापारबाट मात्र सिङो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। यसको अलावा देशको समृद्धि आफूसँग हुदै नभएको स्रोतसाधनमा खोज्नु अमूल्य समयको बर्बादि र देशलाई पुन: बिपन्नताको खाडलमा धकेल्नुसरह हुन्छ। त्यति मात्र नभई आफ्नो दर्शनसँग सम्बन्धित आयुर्वेद एवं योग लगायतका उच्च एवं दक्ष जनशक्ति उत्पादन गरेर विश्वब्यापिरुपमा परिचालन गर्न सके गुणात्मक ब्यापारले देशको समृद्धिको वाटो खुल्नेछ। परनिर्भरता एवं परसंस्कृतिग्रहणको चपेटाबाट बाहिर नआउन्जेल समृद्धिको कुरा गर्नु दिवास्वप्न मात्र हुनेछ तर दु:खको कुरो यो छ कि हाम्रो देशमा पूर्वीय दर्शनका विधाहरु, उच्च जनशक्ति उत्पादन एवं दर्शन सम्बद्ध संस्थाहरुको विकास एकदम खस्कदो अवस्थामा छ।
हिजोसम्म योगलाई स्विकार गर्न अप्ठ्यारो मान्ने पश्चिमाहरु अहिले विश्व योग दिवस हामीभन्दा बढि धूमधामका साथ मनाउन थालेका छन् । पश्चिमा मुलुकहरुमा योग कक्षाहरु धमाधम संचालन हुन थालेका छन् । मित्रराष्ट्र भारतमा प्रतिवर्ष लाखौंको संख्यामा यूरोपियनहरु योग सम्बन्धि तालिम लिन आउने गरेका छन् तर हामीले विश्वस्तरमा आफ्नो दर्शनमा खासै कौशलता प्रस्तुत गर्न सकेका छैनौ। योगको विश्वब्यापिकरणमा भारतको ठूलो योगदान रहेकैले योग सिक्नको लागि भारत मात्र जानुपर्छ भन्ने चिन्तन बनिसक्यो जहाँ हामी योगभूमि, ज्ञानभूमि र तपोभूमि भन्ने शब्दहरूमा मात्र सिमित रह्यौं। त्यस्तै आयुर्वेदमय भारत निर्माण गर्न तथा आयुर्वेदको वैश्विकिकरण गर्न भारत सरकार अहोरात्र खटेको छ । पूर्वीय दर्शनको विधाहरुको सम्पूर्ण उपलब्धिहरु मित्र राष्ट्र भारतले मात्र प्राप्त गरिराख्दा हामी मुकदर्शक भएर बस्नुको अलावा केहि हुदैन।
नेपालको अविकसित राजनैतिक घटनाक्रमहरुको शिकार बनेको आयुर्वेद जगतको अवस्था दयनीय छ जबकि नेपालमा प्राबिधिक जनशक्तिको उत्पादनको शुरुवात नै आयुर्वेद जनशक्तिको रुपमा भएको छ। श्री ३चन्द्रशमशेरले वि. सं. १९७४ बाट नै आयुर्वेदको अध्ययन अध्यापन शुरु गराए तर यो शिक्षाको विकास गर्नुको सट्टा पश्चिमी सभ्यताको नक्कल गर्न हौसिएका सरकारहरुले पटक पटक यसमाथि प्रहार नै गरे जसको फलस्वरुप शताब्दि बितिसक्दा पनि शिक्षण संस्थाहरुको अवस्था लज्जास्पद छ। शिक्षण संस्थाहरुको गुणस्तर निर्माण भन्दा हरेक सरकारले आफ्ना पार्टि कार्यकर्ताहरुको भर्तिकेन्द्रको रुपमा मात्र प्रयोग गरे।
देशमा हालका ८-१० जना बाहेक सबै स्नातकोत्तर गरेका जनशक्तिहरु भारत सरकारकै आकर्षक छात्रवृतिमा पढेर आएका छन् र अहिले पनि सयकडौं नेपालीहरुलाई भारत सरकारले आयुर्वेदमा स्नातक(B.A.M.S.), स्नातकोत्तर(M.D.) एवं विधावारिधि(Ph. D.) पढाईराखेका छन् र यस सन्दर्भमा हामीले मित्र राष्ट्र भारतको गुणगान नगर्नु वेइमानी मात्र हुनेछ। वि. सं. १९७३ मा स्थापना भएको केन्द्रिय आयुर्वेद चिकित्सालय, नरदेवी आज विश्वमै आयुर्वेदको नमूना बन्नुपर्नेमा समयसापेक्ष विकास हुन नसकेर नेपालभित्रै पनि गौण झै छ।
कुनै बेला विश्वकै उत्कृष्ट आयुर्वेद औषधि उत्पादनको केन्द्र बनेका सिंहदरबार वैधखाना अहिले आफ्नै देशभित्रै पनि ओझेलमा परेको छ। त्यत्ति मात्र नभई चीन सरकारको करोडौंको लगानीमा निर्मित विशाल एवं अत्याधुनिक उपकरणहरुबाट सम्पन्न राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर स्थापना भएदेखि नै सरकारपिच्छै नयाँ निर्देशक र कर्मचारि फेरिने काममा मात्र सिमित भयो जबकि स्थायी दरबन्दिमा जनशक्तिहरुले ठाउँ पाउनुपर्थ्यो, अहोरात्र अनुसन्धानमूलक कार्य हुनुपर्थ्यो तर दुर्भाग्यवश उद्देश्यअनुरुप कुनै उपलब्धि देशले पाएन। देशमा विधमान आयुर्वेद क्याम्पसहरुमा आवश्यक पूर्वाधार र जनशक्ति छैन बरु राजनैतिक पूर्वाग्रहको आधारमा जनशक्ति भित्र्याउने परम्परा बसेको छ। त्यसको ठिक विपरित भारतमा आयुर्वेदको स्नातक(B.A.M.S.), स्नातकोत्तर(M.D.) एवं विधावारिधि(Ph. D.) को अध्ययन अध्यापन गराउने सयौं कलेजहरु छन जहाँ बर्षेनी आयुर्वेदका सयकडौं विषयहरुमाथि अनुसन्धान भईराखेका छन्। Central council for research in Ayurvedic Sciences (CCRAS) नामक संस्थाले त दिनरात आयुर्वेद विज्ञहरुलाई परिचालित गरेर बिभिन्न रोगहरुको उपचार एवं औषधिहरुमाथि अनुसन्धान गरिरहेका छन्।
विश्वसमुदायको आयुर्वेद एवम योग प्रतिको आकर्षणलाई मध्यनजर राख्दै यसको वृद्धिविकासको लागि मित्रराष्ट्र भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदिज्यूले त आफ्नो पहिलो कार्यकालमा नै आयुर्वेद, योग, सिद्धा, यूनानी, होमियोपैथी लगायतक विधालाई समेतेर विशाल संजालसहितको छुट्टै मन्त्रालय नै खडा गरे जसको माध्यमबाट आयुर्वेद एवं योगसम्बन्धि क्रियाकलापहरु विश्वभरि फैलाईराखेका छन्। तर हामीले आफ्नो दर्शन र मौलिकताको प्रवर्धन गर्न कति योगदान पुर्याएका छौ भन्ने प्रश्न आफैंसँग सोध्ने बेला आईसकेको छ। अहिले अमेरिका र यूरोपियन मुलुकहरुमा आयुर्वेद एवं योगका पाठ्यक्रमहरु संचालन भईराखेको छ र बिस्तारै सबै देशहरुले यसको विशेषतालाई स्वीकार्दै यसको अध्ययन एवम चिकित्सकिय पक्षलाई वढावा दिरहेका छन्। यसरी विश्वस्तरमा युद्धगतिमा फैलिरहेको पूर्वीय दर्शनसम्वद्ध विधाहरुको आर्थिक लाभ लिन नसक्नु हाम्रो लागि दूर्भाग्य मात्र हुनेछ।
मौकामा हिरा फोर्ने बुद्धि हामिमा आएन भने हाम्रा भावी पुस्ताहरु पनि परनिर्भरताको खाँडलमै जिउन वाध्य हुनेछन्। पहिलादेखि नै यी विधाहरुको बिकाससँग कुठाराघात गर्दै समग्र राष्ट्रको समृद्धिलाई रोकेर राख्ने गतिविधिहरु हुँदै आएकोले यी सम्पूर्ण दोष बर्तमान सरकार तथा आयुर्वेद संस्थाहरुका बर्तमान पदाधिकारिहरुलाई मात्र दिनु पक्कै पनि न्यायोचित हुदैन भलेहि बर्तमान सरकार तथा पदाधिकारिहरु पनि मौलिकताको सवालमा पूरानै बाटो अँगालेका छन्। यस अवस्थाबाट माथि उठ्न नेपाल सरकार व्यापक गृहकार्य गरेर नियमनकारि निकायहरुलाई दुरुस्त पार्दै संस्थाहरुको उद्देश्यमूलक बिकास गरे मात्र समृद्धि सार्थक हुनेछ।
अन्तमा यही भन्न चाहन्छु- हे मेरा देशका युवा हो, अब उठौं, आफ्नो मौलिकताको पहिचान गरौं, युद्धशैलीमा आफ्नो दर्शनको विश्वव्यापीकरण गरौं, अनुसन्धानमा जुटौं, समृद्ध नेपालको निर्माणमा आफ्नो पनि हात वढाऔं।
(लेखक महतो कन्सल्टेन्ट आयुर्वेद विज्ञ हुन् । )





