चितवन जिल्ला लिगमा पानसको सानदार जित

भरतपुर, ३ माघ ।
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा पानस युवा क्लबले सानदार जित हात पारेको छ ।

सोमबार भएको दोस्रो खेलमा पानसले नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ४-० ले पराजित गरेको हो ।

खेलमा सुरुवातदेखि नै पानसले एनएफसीलाई दबाबमा राखेको थियो । पानसको जितमा अमिस महतोले दुई तथा सचिन तामाङ र अशोक टाडीले समान एक-एक गोल गरे । खेलको सातौं मिनेटमा नै सचिनको गोलबाट पानसले अग्रता लिएको थियो ।

पहिलो हाफमा एक गोल गरेको पानसले दोस्रो हाफमा तीन गोल थप्यो । ६२ औं मिनेटमा अमिसले गोल गर्दै पानसलाई २-० को अग्रता दिलाए । ७० औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि पानसले खेलमा ३-० को अग्रता लियो ।

निर्धारित समयको अन्तिम मिनेटमा अशोकले गोल गर्दै पानसलाई ४-० को जित दिलाए । खेलको म्यान अफ दि म्याच पानसका मिडफिल्डर आकाश थापा मगर घोषित भए ।

जितपछि पानस चार खेलबाट सात अंक बटुल्दै समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पानस पछिल्ला दुई खेलमा भने लयमा फर्किएको छ । पानस शीर्ष स्थानको केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भन्दा ५ अंक तथा दोस्रो स्थानको सौराहा युवा समाज भन्दा २ अंकले पछि छ । तर पानसले शीर्ष दुई टोलीले भन्दा एक खेल कम खेलेको छ । एनएफसी भने चार खेल २ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा झरेको छ ।

यस अघि आजको पहिलो खेलमा सञ्जय चौधरीको दुई गोलको मद्दतमा सौराहा युवा समाजले कमब्याक जित हात पारेको छ । सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र राज भुसालले एक-एक गोल गरे ।

खेलमा अग्रता भने बिएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

दुई गोलले पछि परेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।

दोस्रो हाफमा सौराहाले थप एक गोल गर्‍यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको म्यान अफ दि म्याच सौराहाका सञ्जय चुनिए । यो हारसँगै बिएफसीको अपराजित यात्रामा टुङ्गिएको छ । बिएफसी यस अघिका चार खेलमा अपराजित थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले ५ खेलबाट ९ अंक बनाएको छ। सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर १२ अंकका साथ पहिलो स्थानमा छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछ । मंगलबारको पहिलो खेलमा दिउँसो १ बजे नारायणी फुटबल क्लब र दोस्रो खेलमा दिउँसो ३:३० बजे एस्ट्रल युथ सोसाइटी र बगान यात्रा ग्रुपबीच हुनेछ । शीर्ष दुईमा रहँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न मंगलबारको खेल जित्नै पर्ने दबाब छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट