बिएफसीविरुद्ध सौराहाको कमब्याक जित

भरतपुर, ३ माघ ।
सञ्जय चौधरीको दुई गोलको मद्दतमा सौराहा युवा समाजले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ ।

आज भएको पहिलो खेलमा सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र राज भुसालले एक-एक गोल गरे ।

खेलमा अग्रता भने बिएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

दुई गोलले पछि परेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।

दोस्रो हाफमा सौराहाले थप एक गोल गर्‍यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको म्यान अफ दि म्याच सौराहाका सञ्जय चुनिए । यो हारसँगै बिएफसीको अपराजित यात्रामा टुङ्गिएको छ । बिएफसी यस अघिका चार खेलमा अपराजित थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले ५ खेलबाट ९ अंक बनाएको छ। सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर १२ अंकका साथ पहिलो स्थानमा छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट