काठमाडौं, ३ माघ ।
स्वास्थ्यकर्मीहरूलाई निःशुल्क औषधि र उपचारलगायतको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई यस्तो व्यवस्था गरिनुपर्ने राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेका हो ।
संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेको छ। अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग संघले राखेको हो ।
साथै, कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरिएको छ ।
‘सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निःशुल्क पिसीआर व्यवस्था गरियोस् ।’





