सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर : घोषणा भयो, कार्यान्वयन भएन

भरतपुर, २१ मंसिर ।
तीन वर्षअघि नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरेको भरतपुर महानगरपालिकाले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको छ ।

महानगरपालिकाले २०७५ कात्तिक ९ गते विभिन्न सरोकारवाला निकाय र मानव सेवा आश्रमबीच सहकार्य गरी सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको थियो ।
घोषणपश्चातको आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले १० लाख १६ हजार बजेट छुट्याएको थियो भने चालु आर्थिक वर्ष २०७८/७९ मा ८ लाख विनियोजन गरेको छ ।

मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाले महानगरपालिकाले सबै खर्च व्यहोरेको जस्तो जनमानसमा सूचना प्रवाह भए पनि घरभाडाको लागि नै अपुग बजेट उपलब्ध गराउँदै आएको दुःखेसो पोखे ।
‘यो रकम घरभाडाका लागि मात्रै पनि अपुग देखिन्छ । हालसम्म उद्धार वाहन, स्क्रिनिङ सेन्टर तथा सहयोगापेक्षीमैत्री संरचना पनि प्रबन्ध गर्न सकिएको छैन’ मानव सेवा आश्रमले सोमबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बर्तौलाले भने, ‘प्रभावकारी कार्यान्वयन नहुँदा स्रोतको अभाव सहयोगापेक्षीमैत्री संरचना नहुँदा समस्या भएको छ ।’
मानव सेवा आश्रममा प्रभावकारी सेवा प्रवाह गर्न मासिक रुपमा प्रतिव्यक्ति १२ हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ । उनले सम्पूर्ण खर्च धेरैजसो दातामै निर्भर रहनुपर्ने बाध्यता रहेको सुनाए । मानव सेवा आश्रमले ७ प्रदेशका १७ जिल्लाको २५ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।

भवन बनाउन महायज्ञ
चितवन शाखाको मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक स्रोत अभाव भएपछि महायज्ञ गरिने भएको छ । भरतपुर–३ बेलचोकका स्व. समाजसेवी भगवानदास श्रेष्ठ र प्रेमकुमार श्रेष्ठद्वारा उपलब्ध गराइएको ८ कठ्ठा जग्गामा निर्माणाधीन अवस्थामा रहेको भवनलाई पूर्णता दिन महायज्ञ गर्न लागिएको हो । मंसिर २६ गतेदेखि पुस ४ महायज्ञ सञ्चालन गर्न लागिएकोे मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

भवन निर्माणमा हालसम्म २ करोड ३३ लाख १० हजार रुपैयाँ खर्च भइसकेको छ । भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको र चालु आवमा २० लाख विनियोजन भएको अध्यक्ष अधिकारीले जनाए । भवन निर्माणकै क्रममा एक करोडभन्दा बढी ऋण लिएको उनले बताए ।आगामी २०८२ सालभित्र सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाको अभियानमा आफूहरु तीव्र रुपले लागेको उनले जनकारी दिए ।

देशभर ६ हजार जनालाई सेवा
सहयोगपेक्षी मानवहरुको उद्धार गर्दै आएको मानव सेवा आश्रमले हालसम्म ६ हजार जनाभन्दा बढीलाई सेवा दिएको छ । ७ प्रदेशका १७ जिल्लाका २५ सेवा केन्द्रबाट हालसम्म ६ हजार दुई सय ७५ जनालाई सेवा दिइएको संस्थाले जनाएको छ ।

२०६९ सालमा हेटौँडाबाट सुरु भएको मानव सेवा आश्रमले दुई हजार चार सय २५ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । यो अवधिमा उपचारपश्चात स्वेच्छाले घर गएका एक हजार ६ सय ६७ जना पुगेका छन् । हाल मानव सेवा आश्रममा एक हजार ५ सयभन्दा बढी सहयोगापेक्षी आश्रित रहेका छन् । आश्रमले संरक्षण दिएका ६ सय ३४ जानको निधन भएको बर्तौलाले जानकारी दिए ।

चितवनमा २०७२ सालबाट सुरु मानव सेवा आश्रमको शाखाले हालसम्म ६ सय ५९ जनालाई सेवा दिइसकेको छ । यो अवधिमा दुई सय ८६ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ । उपचारपश्चात स्वेच्छाले एक सय ९२ जना घर फर्केका छन् । आफैँ सक्षम भएर स्वेच्छाले ५२ जनाको सामुदायिक पुनर्स्थापना गरिसकेको पवक्ता बर्तौलाले जानकारी दिए । हाल चितवनको मानवसेवा आश्रममा ६५ जना आश्रित रहेका छन् । आश्रमले संरक्षणमा रहेका ९३ जना जनाको निधन भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट