भरतपुर, १९ मंसिर ।
चितवन प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई-कमर्स इन्टरनेशनलका कार्यकारी निर्देशक २७ वर्षीय पुष्पराज तिमिल्सेना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याई अन्य संस्थाले भन्दा राम्रो व्याज दिने आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई पासबुक समेत बनाई दैनिक रुपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गरी ठगी गरेको आरोपमा तिमिल्सेनालाई पक्राउ गरिएको हो ।
ठगी बारेमा सूचना पाएपछि प्रहरीले थप अनुसन्धान गर्दा उक्त संस्थाका कार्यकारी निर्देशक रहेका तिमिल्सेना आफैले नेपाल राष्ट्र बैंकको नक्कली ईजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सूचना अधिकृत अधिकारीले जानकारी दिए । उनीविरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी समेत परेको हुँदा जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





