देवचुली, १७ मंसिर ।
देवचुली नगरपालिका वडा नम्बर ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका- ५ बाट बिनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति १ किलोग्राम हर्लिक्स र १ क्रेट अण्डा वितरण गरिएको हो ।
बच्चाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेतता गराउँदै सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम निरन्तररुपमा गर्दै आईरहेको देवचुली- ५ का अध्यक्ष शिवलाल सापकोटाले बताए । वडामा रहेका ३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ हप्ता अघिबाट नै वडामा रहेका एक हजार दिनका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र आज १३० जना सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको हो । अभियानका क्रममा कोही छुटेको भए वडाले सबैलाई समानरुपले पोषण वितरण गर्ने अध्यक्ष सापकोटाले बताए ।
देवचुली- ५ ले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाईकटाई, गुडिया बनाउने तालिमलगायत सशक्तिकरणका लागि निरन्तर काम गर्दै आईरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा वडा अध्यक्ष सापकोटाले प्रतिबद्धता जनाए ।
कार्यक्रममा समाजसेवी कृष्ण सापकोटाको प्रमुख आतिथि थिए । त्यस्तै नेपाली काँग्रेस देवचुली- ५ का सभापति लेखनाथ सिंजाली, नेकपा एमाले देवचुली- ५ का अध्यक्ष ठाकुर लप्रसाद पोखरेल, युवा क्लब ,आमा समुहको प्रतिनिधिलगायत सुनौला हजार दिनका आमाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली- ५ का वडासचिव दिलिप दाहालले गरेका थिए ।





