चौतारी : दर्शककै कथालाई नाट्य रुपान्तरण

भरतपुर, १६ मंसिर ।
चितवनमा पछिल्लोपटक नाटकका गतिविधि बढ्दै गइरहेको छ । यसैक्रममा पहिलोपटक ‘चौतारी नाटक’ मञ्चन भएको छ, जसलाई अंग्रेजीमा ‘प्लेब्याक थिएटर’ भनिन्छ ।

नारायणी कला मन्दिरले आयोजना गरेको १२ दिने कार्यशालाबाट उक्त नाटक तयार पारिएको हो । अञ्जान प्रदीपले नाटकका लागि प्रशिक्षण दिएका थिए । नाटक हेर्न हलमा आएका दर्शकहरूकै कथालाई तत्काल प्रस्तुत गरिने यस नाटकबाट दर्शकहरूले आफ्नै कथा सुनाए । कलाकारहरूले सोही कथालाई नाटकीय रूपान्तरण गरेर देखाए ।

`चितवनमा चौतारी नाटक पहिलो अभ्यास हो´, प्रशिक्षक प्रदीपले भने -`त्यसैले नाटक हेर्न हलसम्म आउनु भएका दर्शकले अचम्म मान्नुभयो ।´

नाटकलाई कुनै विषयवस्तुमा मात्रै केन्द्रित नभई तत्काल पाएको विषयवस्तुमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न चौतारी नाटक मञ्चन गरिएको कला मन्दिरका अध्यक्ष उद्धव जोशीले बताए । ‘यसले चितवनको नाट्य क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास लिएका छौँ,’ उनले भने ।

पुराना कलाकार गायत्री श्रेष्ठले चौतारी नाटकमार्फत फरक खालको अभ्यास देख्न पाएकोमा खुसी व्यक्त गरिन् । करिब आठ वर्षअघि ‘सकस’ नाटकमा काम गर्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘त्यतिबेला युवाहरूमा नाटकप्रति उर्जा जागोस् भनेर हामी पाका युवाहरूको समूहले एउटा प्रयास गरेको थियो । तर, त्यसले तत्काल निरन्तरता पाउन सकेन । अब भने निरन्तरता पाउँछ कि भन्ने लागेको छ ।’

पछिल्लो केही वर्षयता कोरोनाकाल बाहेक कला मन्दिरमा फाट्टफुट्ट नाटक निर्माण तथा मञ्चन हुने काम पनि भइरहेको छ । यसलाई निरन्तरता दिन सके चितवनमा कलाको थप विकास हुने र नारायणी कला मन्दिरको उचाइ पनि थप माथि पुग्ने अग्रज कलाकार ऋद्धिचरण श्रेष्ठ बताउँछन् ।

नाटकको विकासकै लागि कला मन्दिरले आउँदो फागुन पहिलो सातासम्ममा एउटा नाटक निर्माण गरेर मञ्चन गर्ने सोच बनाएको कला मन्दिरका अध्यक्ष उद्धव जोशीले बताए । लामो समयसम्म सुस्ताएको कला क्षेत्रलाई सक्रिय बनाउन पनि नयाँ कार्यक्रम ल्याउने योजना बनाउँदै आएको उनले बताए ।

नारायणी कला मन्दिरमा यही मंसिर १९ गते स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरूवाचार्य स्मृति साँझ आयोजना गर्न लागिएको जोशीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट