जोशीको `सम्झनाका पलहरू´मा चितवन वर्णन

भरतपुर, १६ मंसिर ।
स्रस्टा प्रभातकुमार जोशीको संस्मरण संग्रह ‘सम्झनाका पलहरू’ सार्वजनिक भएको छ । मंगलबार नारायणगढस्थित नारायणी कला मन्दिरमा लेखककी आमा दुर्गालक्ष्मी जोशी र माइजु कृष्णकुमारी पियाले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका हुन् । नारायणी कला मन्दिरका पूर्व अध्यक्ष जोशी लामो समयदेखि कला मन्दिरसँग निकट रहेर काम गर्दै आएका छन् ।

विमोचन कार्यक्रममा बोल्दै लेखक जोशीले कला मन्दिरकै माध्यमबाट आफू परिचित बन्ने अवसर मिलेको बताए । `मेरो सङ्ग्रहलाई कला मन्दिरले प्रकाशन गरेर ममाथि ठूलो गुन लगाएको छ´, जोशीले भने – `आज कला मन्दिरकै आयोजनामा कृति विमोचन गराउन पाउँदा खुसी लागेको छ ।´

जोशी लायन्स क्लबमा पनि आवद्ध छन् । विशेषगरी लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका जोशी कवि तथा गीतकारका रूपमा चिनिएका व्यक्ति हुन् । जोशीले आधुनिक सँगै केही नेपाली चलचित्रका लागि पनि गीत लेखेका छन् ।

नारायणी कला मन्दिरका अध्यक्ष उद्धव जोशीले कला मन्दिरलाई महत्त्वपूर्ण योगदान दिएको वजनदार व्यक्तिको पहिलो कृति प्रकाशन गर्न पाउँदा नारायणी कला मन्दिरकै इज्जत बढेको बताए । नारायणगढ निवासी कृतिकार जोशीको जन्म गोरखामा भएको हो । समयक्रमसँगै तनहुँको बन्दिपुरहुँदै चितवनसम्म आइपुग्दाका क्षणलाई संस्मरण बनाएर लेखिएको हुँदा कृति ज्यादै पठनयोग्य बनेको समीक्षक केदारनाथ खनाल बताए । ‘लेखकले पुस्तक लेख्नकै लागि मात्रै लेखेको नभई नारायणगढ बजार र समग्र चितवनको ऐतिहासिक एवम् सामाजिक अवस्था अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी हुने देखिन्छ,’ खनालले भने । पुस्तकमा विगत ५० वर्ष वरिपरिको चितवनको समग्र चिनारी संस्मरणमार्फत उतारिएको छ ।

कृति र कृतिकारबारे समीक्षा गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले लेखन साहित्य एउटा पाटो भए पनि समाजमा देखिने सामाजिक पाटो नै जोशीको महत्त्वपूर्ण पाटो भएको बताए । जोशीकै छत्रछायामा धेरै सामाजिक काम भएको हुँदा कृति प्रकाशन हुँदा पनि उनको सामाजिक योगदानलाई भुल्न नहुने अधिकारीको भनाइ छ ।

पुस्तकमा विभिन्न शीर्षकमा २८ वटा विषय समेटिएका छन् । `सम्झनाका पलहरू´ पुस्तक विमोचनकै क्रममा जोशीले अर्को कृति पनि प्रकाशनको तयारीमा रहेको जोशीले उद्घोष गरे । ‘सम्भवतः दुई महिनापछि कविता संग्रह लिएर आउँदैछु,’ उनले भने, ‘मानव सेवा आश्रमले प्रकाशन गर्ने उक्त कृति छपाइको तयारीमा छ ।’

सम्झनाका पलहरूको प्रकाशन नारायणी कला मन्दिरले गरेको हुँदा उक्त पुस्तकको बिक्रीबाट आउने आम्दानी पनि कला मन्दिरकै विकासमा खर्च गरिने लेखक जोशीले बताए । ‘कविता प्रकाशन भयो भने, त्यसबाट हुने आम्दानी पनि मानवसेवा आश्रमलाई नै हुनेछ,’ उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट