सौराहा, १४ मंसिर ।
एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।
१० मंसिरबाट चितवनमा सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।
घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ ।
महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पदाधिकारी १९ जना रहेका छन् । सबै पदहरुमा ओली निकटै नेता निर्वाचित भएका छन् । ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन् ।
१०औं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका पदाधिकारी एवम् केन्द्रीयहरुले सपथ लिएका छन् । मंगलबार साँझ निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् ।





