भरतपुर, १४ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चितवन जिल्ला सभापतिमा उत्तम जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत वर्तमान जिल्ला सचिव रहेका जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नयाँ सोच र शैलीबाट संगठन विस्तार र सवलीकरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएको जोशीले बताए । उनले आफ्नो उम्मेदवारीलाई चितवन कांग्रेसका नेता र सदस्यहरुको भावनाको प्रतिबिम्बको रूपमा लिएको बताए ।
जोशीले आफू सभापतिमा निर्वाचित भए पार्टी सदस्य तथा कार्यकर्याहरुको मनोबल उच्च बनाउने तथा यथोचित मूल्यांकनका आधारमा अवसर र सम्मानको परिपाटी बसाउन जोड दिने प्रतिवद्धता जनाए । पार्टीको हरेक कार्यक्रमलाई नियमित र पारदर्शी बनाउने उनको भनाई थियो ।
अस्वच्छ गुटबन्दीले पार्ने नकारात्मक प्रभावबाट पार्टीलाई मुक्त राख्दै आपसी एकता, समन्वय र सद्भावपूर्ण वातावरण तयार पार्न प्रयत्न गर्ने उनले बताए । उनले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउने भूमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाए ।




