भरतपुर, १२ मंसिर ।
नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको हो ।
यूएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी-२० ग्लोबल छनोटमा पुगेको छ ।
यूएई पाँच खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको हो। नेपाल समान खेलमा तीनमा जित र दुईमा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।
यूएईले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अलआउट भयो ।
नेपालकी ओपनर इन्दु वर्माले १५ रन बनाइन् । सीता रानामगरले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सरिता मगर र काजल श्रेष्ठले ८/८ रन बनाइन् । कविता कुँवर र अप्सरा बेगमले ४/४ रन बनाउँदा रुविना क्षेत्री वेलवासे, करुणा भण्डारीले २/२ रन बनाइन् ।
यूएईकी समायरा धरणीरकाले सर्वाधिक ४ विकेट लिइन् । खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिइन् । चया मुगलको नाममा १ विकेट रह्यो ।
त्यसअघि आईसीसी एकेडेमी ग्राउण्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
यूएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रन बनाइन् । ओपनर थ्रीथा सतिस ४७ र काभिसा इगोडागे २२ रनमा आउट भइन् ।
नेपालका कविता कुँवरले २ विकेट लिइन् । सवनम राई, सीता रानामगर र संगीता राईले १-१ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेटले हराएको नेपालले कुवेतलाई ९ र मलेसियालाई ६ विकेटले हराएको थियो ।





