एमाले बन्दसत्रमा ओलीले आइतबार नेतृत्वको नामावली पेस गर्ने

सौराहा, ११ मंसिर ।
नेकपा (एमाले)को जारी १०औं महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्र विरोधका बीच टुंगिएको छ । आइतबार बिहान बन्दसत्र नियमित सञ्चालन हुने गरी बन्दसत्र अन्त्य भएको हो । बन्दसत्रले केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

प्रस्तावअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिइएको छ । अब आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । उक्त नामावलीलाई सर्वसम्मतिबाट अनुमोदन गराउन प्रयास गरिने नेताहरुले जानकारी दिए । तर ओलीको नामावलीमा कोही नेता चुनावमा लड्न चाहन्छन् भने अधिकार भने दिइने एक नेताले जानकारी दिए । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान राखेका छन् ।

एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव राखेपछि हलले समर्थन गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार जारी महाधिवेशनमा नेकपा (एमाले)ले सर्वसम्मतिमा नेतृत्व चयनका लागि प्रयास गरिरहेको छ ।

सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
उक्त प्रस्तावमा अध्यक्ष पदका दाबेदार भीम रावलले आफ्नो फरक मत राखेका छन् । महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले फरक मत राखेका हुन् ।

उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरितको निर्णय भएको बताएका छन् । विधानले महाधिवेशनबाट कमिटी छान्न निर्देश गरेकाले सोही अनुसार निर्णय हुनुपर्ने बताए ।

महाधिवेशनका प्रतिनिधिहरुको अधिकार हनन गरी यस्तो निर्णय गर्दा लोकतान्त्रिक परिपाटी अन्त्य गर्ने प्रयास भएको रावलले बताएका छन्। उनले भने, ‘महत्त्वपूर्ण महाधिवेशनमा यस्तो कुराले प्रवेश गर्नु उपयुक्त होइन । यसले लोकतान्त्रिक प्रणालीबाट आफ्नो नेता चयन गर्ने परिपाटीलाई अन्त्य गरिदिन्छ ।’

रावलले आफूले १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोही अनुसार उम्मेदवारी दिने पनि बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट