गैँडाकोट, ११ मंसिर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको प्रक्रियालाई सफल पार्ने कोशिसमा आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकेको बताएका छन् ।
शनिबार देशभर एकसाथ सुरु भएको पालिका अधिवेशनलाई सम्वोधन गर्दै दाहालले कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन पार्टी एकता गरेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायलाई दुरुपयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाए ।
प्रचण्डले ओलीगुटको मात्रै षड्यन्त्र नभएर दक्षिणपन्थीको मिलेमतोमा संविधानलाई उल्ट्याइएको दावी समेत गरे । अध्यक्ष दाहालले त्याग, तपस्या र बलिदानले निर्माण गरेको पार्टीलाई प्रतिगमनकारी आन्दोलनलाई परास्त गरेर पुन:संगठित गर्न लागकोे प्रति खुसी व्यक्त गरे ।
देशभर एकसाथ भएको पालिका अधिवेशन अन्तर्गत शनिबार गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट नगर अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा बोल्दै माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटाले देशमा व्याप्त विभेदलाई हटाउनका लागि नै माओवादी आन्दोलन गर्नुपरेको बताए । ‘गाँउकाले शहरकालाई नहेपोस्, धनिले गरिवलाई नहेपोस्, कथित उपल्लो जातले कथित तल्लो जातलाई नहेपोस्, खस भाषा बोल्नेहरुले अन्य भाषा बोल्नेलाई नहेपोस् भनेर नै माओवादी आन्दोलन गर्नुपरेको हो´ उनले भने ।
सो कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद पराजुली, बुद्धिजिवी बलराम सुवेदी, माओवादी नेतृ तारा शर्मालगायतले देशलाई अग्रगमनतिर डोर्याउन र समृद्ध नेपाल निर्माण गर्न पाटी अगाडी बढ्ने बताए ।
गैँडाकोट नगर अध्यक्ष युवराज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत माओवादी नेतृ अम्विका सापकोटाले र कार्यक्रम सञ्चालन नगर सचिव श्यामसुन्दर लामिछानेले गरेका थिए ।





