भरतपुर, ९ मंसिर ।
भोलिदेखि चितवनमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा साढे सात करोड रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले आज उद्घाटनस्थल नारायणी निकारमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै आवास, खाना, मञ्च, छपाईलगायतका सम्पूर्ण खर्चमा करिब साढे सात करोड खर्च अनुमान गरिएको जानकारी दिए ।
महाधिवेशनको सम्पूर्ण खर्च पार्टीको आन्तरिक स्रोतबाट जुटाइएको उनको भनाई छ । ‘महाधिवेशनको लागि पार्टी सदस्यबाट एक सय रुपैया, लेबी, प्रतिनिधिबाट उठाइएको इन्ट्रीफिलगायतको स्रोत नै महाधिवेशनमा खर्च हुनेछ’ उनले भने ।
कम्युनिष्ट पार्टीको कार्यक्रममा किन यतिका तामझाम र खर्च भन्ने पत्रकारको जिज्ञासामा उनले महाधिवेशन पार्टीको ठूलो उत्सव भएकोले खर्चमा चिन्ता गर्न नहुने बताए । ‘कुनमा चाहिँमा खर्च गर्ने त ? उत्सव हो, माहोल हो । हामी मलामी गएका हैनौँ नि ! उत्सवमा त खर्च गर्नुपर्छ’ – जवाफ दिँदै भट्टराईले भने ।





