भरतपुर, ९ मंसिर ।
नेकपा एमालेका नेता सुवास नेम्वाङले केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेमा महाधिवेशन सफल भएको सन्देश जाने बताएका छन् ।
एमालेको १०औं महाधिवेशनमा सहभागी हुन आज चितवन आएका नेता नेम्वाङले अध्यक्षमा केपी ओली नै सर्वसम्मत हुने बताउँदै उनले अन्य पदमा पनि सर्वसम्मत गरेमा महाधिवेशन भव्यरुपमा सफल हुने बताएका हुन । उनले भने – ‘अध्यक्ष पदमा केपि ओलीमा विवाद छैन । उहाँले केही नभने पनि सिंगो देशले केपि ओलीको अध्यक्षतामा बन्ने भनेका छन् ।´
`म पनि त्यही भनिरहेको छु । उहाँको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गर्नुपर्छ। त्यो भयो भने यो महाधिवेशन भब्य रुपमा सफल भएको सन्देश जानेछ’- नेम्वाङले भने ।
नेता नेम्वाङले नयाँ नेतृत्व चुनौतीका बिचमा रहेको बताउँदै सबै पदाधिकारीको टुंगो महाधिवेशनबाट लगाउने बताए । सर्वसम्मत नभए सबै पदाधिकारीको नेतृत्व महाधिवेशनबाट टुंगिने उनले बताए ।





