भरतपुर, २४ कात्तिक ।
नारायणी नदी किनारमा अस्ताउँदै गरेको सूर्यलाई पूजा आराधना गर्दै अर्घ दिएर तराई समुदायले छठ मनाइएका छन् । छठ मनाउनका लागि नारायणी किनारको सजावट आकर्षक बनाइएको छ । नारायणी किनारमा छठ मनाउने र छठको रमाइलो हेर्न जानेको बाक्लो उपस्थिति छ ।
सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्वको रौनक बुधवार साँझ नारायणी किनारमा उल्लासमय देखिएको छ । छठको तेस्रो दिन भएकाले नारायणी नदीमा अस्ताउन लागेको सूर्यको पूजा गरी अर्घ दिने र हेर्नेको भिड देखिन्छ । नारायणी किनारमा अघिल्लो वर्ष कोरोनाले गर्दा छठको उस्तो रौनक नभए पनि यसवर्ष भने छठी माताको भजन किर्तन अनि संगीतले नारायणी किनारको रौनक नै बदलिदिएको छ ।
छठपूजाको क्रममा गाइने पारम्परिक गीतसंगीत र बाजा बजाइएको छ । छठको पूजागर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफूल, वतासा मिठाईजस्ता सामग्रीहरु लिएर समूहगत रुपमा पूजाअर्चना गरेको दृश्य पनि देख्न सकिन्छ ।
तराइबासीले हर्षोउल्लासका साथ मनाउने विशेष पर्व छठमा पछिल्लोसमय अन्य समुदाय र क्षेत्रका बासिन्दा पनि उत्तिकैरूपमा सामेल भएर रमाउने तथा पूजाअर्चना गर्न थालेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
बुधबार साँझ कायाकैरनकर्मी निशा श्रेष्ठले नारायणी नदी किनारमा पुगेर कैद गरेका तस्वीर हेरौँ :





