भरतपुर, २१ कात्तिक ।
चितवनमा रहेका तराईवासीले यस वर्षको छठ पर्व उल्लासमय वातावरणमा मनाउने भएका छन् । अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित बनेको यो पर्व यसपटक नियमितरूपमा झैँ मनाउने तयारीमा तराईवासी जुटेका हुन् ।
तराई सामुदायिक सेवा समितिको आयोजनामा नारायणी किनारमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज गुप्ताले कात्तिक २२ गते सोमबारदेखि २५ गते बिहीबारसम्म लगातार ४ दिन छठ पर्व मनाउने कार्यक्रम रहेको बताए ।
जसअन्तर्गत पहिलो दिन भोलि कात्तिक २२ गते सोमबार नुहाउने, खाने ( शुद्धीकरण ) कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन २३ गते मंगलबार खरना पूजा हुनेछ । छठ पूजाको मुख्य दिन कात्तिक २४ गते बुधबार नारायणी नदी किनारमा सन्ध्याकालीन अर्घ दिइनेछ । कात्तिक २५ गते बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिनेछ ।




