काठमाडौँ ,२१ कात्तिक ।
सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका-५ खारखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १२ पुगेको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । मृत्यु हुनेमा १० पुरुष र दुई जना महिला रहेका छन् ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डीएसपी थापाले बताए । मृतकमध्ये सल्यानमा छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक वलीको मात्रै सनाखत भएको डीएसपी थापाले जानकारी दिए ।
उनका अनुसार मृतक ११ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा १८ जना यात्रु घाइते भएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३० भन्दा बढी यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।




