अफ्रिकी मुलुक सियरा लिओनमा तेल ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ९८ जनाको मृत्यु

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा अफ्रिकी मुलुक सियरा लिओनमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी यति ठूलो संख्यामा ज्यान गएको हो ।

९२ जनाको अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले जनाएको बीबीसीले लेखेको छ । उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो’, एक प्रत्यक्षदर्शीले भने ।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । ‘आगलागी हुनुअघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए’, एक प्रत्यक्षदर्शीको भनाइ छ ।

राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउका छन् । उनले पीडितलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट