भरतपुर, १३ कात्तिक ।
लगातार १५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक आउने भएको छ ।
मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण समारोह यहि आउँदो कात्तिक १५ गते सोमबार काठमाडौँमा हुनेछ ।
पुस्तकमा कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए ।
घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गर्नेछ । छिट्टै यस पुस्तकको अरबी संस्करण पनि आउने बताइएको छ ।
पुस्तकमा कतारमा नेपाल, नेपालमा कतार र कतार–नेपाल–कतार गरी तीन खण्ड रहने बताइएको छ । पुस्तकमा कतार र नेपालबीच रहेको मैत्री सम्बन्धलाई गहिराईमा गएर उत्खनन गरिएको लेखक प्रा. मियाले बताए । पुस्तकलाई माघ महिनाभित्र निकालिने घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए ।
करिब १५ वर्षको समय कतार बसेको प्राध्यापक मियाँले कतार भौगोलिक रुपमा सानो भएपनि आर्थिक तथा विकासको दृष्टिबाट नेपालले निकै फाइदा लिन सक्ने बताए ।





