काठमाडौं, ७ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच सर्वोच्च अदालतमा छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीशका बारेमा बाहिर प्रश्न उठाउँदै विरोध सुरु भए पनि यस विषयमा नेपाल बार एसोसिएसनले भने कुनै धारणा सार्वजनिक गरेको छैन । प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकामा भाग खोजेको तथा न्यायापालिकाको शाख जोगाउन भूमिका नखेलेको आरोप लागाइएको छ ।
त्यो आरोपपछि न्यायालयमाथिको विश्वास घट्ने र प्रधानन्यायाधीश आफैँले विकल्प दिनुपर्ने भन्दै पूर्वन्यायाधीश मञ्चले विज्ञप्ति जारी गरेको थियो । यस्तो अवस्थामा प्रधानन्यायाधीश कसरी प्रस्तुत हुने र न्यायिक निष्पक्षतमा उठेका प्रश्नमा प्रधानन्यायाधीशको कस्तो भूमिका रहनेलगायत विषयमा छलफल हुने बताइएको छ । नेपाल बार एसोसिएसनले समय मागेपछि प्रधानन्यायाधीश जबराले छलफलका लागि समय छुट्ट्याएका हुन् ।
यसअघि, संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी विवादमा प्रधानन्यायाधीशले समझदारी पालना नगरेको भन्दै बारले एमिकस क्युरी सिफारिस गरेको छैन । प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहन हुने/नहुने विवाद एकल इजलासमा पठाएपछि न्यायाधीश हरि फुयाँलको एकल इजलासले त्यस विषयका निरूपणका लागि एमिकस क्युरी गठनको आदेश गर्दै संवैधानिक परिषद्मा जारी सुनुवाइ रोक्न आदेश गरेको थियो । त्यो आदेशमा सर्वोच्च बार र नेपाल बारबाट दुई दुई गरी चारजनाको एमिकस क्युरी बनाउने भनिए पनि अहिलेसम्म दुवै बारबाट एमिकस क्युरीमा बस्ने प्रतिनिधिको नामावली दिइएको छैन ।





