भरतपुर, २ कात्तिक ।
कोराना कहरले थलिएको पर्यटन व्यवसाय उकालो लाग्दैगर्दा पश्चिम चितवनको पटिहानी क्षेत्र पर्यटकहरूले भरिन थालेको छ । दशैं बिदामा घुम्ने गन्तव्यमा आन्तरिक पर्यटकको रोजाइमा घटगाईको `अम्ब्रेला स्ट्रिट´ पनि परेको छ ।
कोरोनाले बन्द हुनुभन्दा अघि यस क्षेत्रमा दैनिक तीन हजारदेखि पाँच हजारसम्म पर्यटक आउने गरेका थिए । यो क्षेत्रमा फेरी चहलपहल शुरु भएको अम्ब्रेला व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताए । छिमेकी जिल्ला नवलपरासी, मकवानपुरलगायतका विभिन्न जिल्लाबाट आएका पर्यटकहरुले अवलोकन गर्ने गरेका छन् । लहरै झुण्डाइएको छाता, सेल्फि पोइन्ट, वाटर फाउन्टेन र विशेषगरी राप्ती किनार र निकुञ्जको मनोरम दृश्य हेर्न पर्यटक आकर्षित भएको भरतपुर- २२ का वडाध्यक्ष विष्णुराज महतोले बताए ।
पटिहानी क्षेत्र निकुञ्जको काखमा रहेको, आदिवासी थारूको संस्कृति जीवितै रहेको र शान्त एवम् प्राकृतिक सुन्दरता रहेकाले पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले जानकारी दिए ।
ऐतिहासिक छितामाइ क्षेत्र, कमलपोखरी पार्क, थारु वस्ती र स्थानीय स्वादिष्ट खाना तथा भोजनको परिकारले पटिहानी क्षेत्रको पर्यटन गतिशील भएको पटिहानी मध्यवर्ती क्षेत्रका अध्यक्ष शंकर महतोले बताए । हात्ती, जीप सफारी, जंगल वाकिङ, डुङ्गा शयर र गाडा शयरमा पर्यटक झुम्मिन थालेको छन् ।
घुम्ती रिभेराका सन्चालक लक्ष्मण पौडेलले दशैंको माहोलसँगै पाहुनाहरु पनि थपिन थालेकोमा उत्साह प्रकट गरे । होटल फाल्कोन तथा रुरु पार्क रिसोर्ट सञ्चालन गरि पर्यटकलाई स्वागत गरेको व्यवसायी बलराम पौडेल बताउँछन् । फूलपाती कै दिन अम्ब्रेला भित्र सन्चालनमा आएको सिद्दिविनायक इको रिसोर्टमा पर्यटकको राम्रो उपस्थिति भएको र आफू उत्साहित भएको सन्चालक छविराम पौडेलले बताए ।




