दुवै टिमका मुख्य खेलाडी र प्रशिक्षकबिनै खेल

भरतपुर, ३० असोज ।
दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा पुगेको नेपाल उपाधि चुम्ने दाउमा छ ।

अहिले बेलुकी पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको हो । जारी प्रतियोगिताको लिगको खेलमा भारतसँग १–० गोलको हार बेहोरेको नेपाल भारतलाई पराजित गरेर पहिलोपटक उपाधि जित्ने दाउमा छ ।

लिग खेलमा निकै रक्षात्मक खेलेर हार बेहोरेको नेपालले आजको फाइनल खेलमा हारको बदला लिन चाहेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठ विगतको नतिजा जस्तोसुकै भए पनि त्यो विर्सिएर उपाधि उचाल्ने गरी खेल्ने बताउँछन् ।

भारतसँग पछिल्लोपटक खेल्नुअघि नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार पक्का रहेको बताएका थिए । तर खेलपछिको पत्रकार सम्मेलनमा भने लिग चरणमा इन्डियासँग हारेर फाइनलमा उसलाई हराउन चाहेको बताएका छन् ।

१२ औं पटक प्रतियोगिताको फाइनल पुगेको भारतले सातपटक उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक फाइनल पुगेकोले पनि नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ ।

नेपाली टिमलाई फाइनलसम्म पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली टिमसँगको यो खेल नै अन्तिम खेल भएकाले पनि जाँदाजाँदै उपाधिको उपहार दिन चाहन्छन् ।

अहिलेसम्म नेपाल र भारतले २२ पटक खेलेका छन् । जसमा नेपालले दुई पटक जित निकालेको छ भने पाँच खेल बराबरी भएका छन् । त्यसबाहेकका १५ खेलमा भारतले जित निकालेको छ । त्यसअघि नेपाल र भारतको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल १–१ गोलको बराबरी भएको थियो भने अर्को खेलमा नेपालले हार बेहोरेको थियो ।

नेपाल र भारतले पहिलो खेल सन् १९८५ मा खेलेका थिए । त्यसयता उनीहरुले २२ पटक खेलेका हुन् । पछिल्लो दुई महिनामा मात्र नेपाल र भारत चौथो पटक भिड्न लागेका हुन् ।

आजको खेलमा भारतका मुख्य प्रशिक्षक इगोल इस्टिमच खेल मैदानमा उपस्थित हुने छैनन् । त्यस्तै, भारतका महत्वपूर्ण खेलाडी सुबासिस बोसले पनि पछिल्लो खेलमा रातो कार्ड पाएका थिए । आजको खेलमा उनी पनि हुने छैनन् ।

यस्तै नेपालका मुख्य प्रशिक्षक अलमुताइरी पनि खेल मैदानमा उपस्थित हुने छैनन् । साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

जारी साफमा नेपालको तर्फबाट दुई गोल गरेका अञ्जन विष्टले प्रतियोगितामा दुई एल्लो कार्ड पाएका छन् । त्यसको सजायवापत उनले पनि आजको खेल खेल्न पाउने छैनन् ।

जारी साफ च्याम्पियनसिपमा नेपालले पाँच गोल गरेको छ भने चार गोलको सामना गरेको छ । नेपाल बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट