भरतपुर, २८ असोज ।
साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ । माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेको थियो ।
भारतका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए । माल्दिभ्सका अलि अस्फाकले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । खेलको दोस्रो हाफमा भने भारतको दबाब देखिएको थियो । भारतीय कप्तान सुनिल क्षेत्रीले ६२ औं र ७१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई फाइनल पुर्याएका थिए ।
यता,नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो ।
बुधवार दिउँसो भएको खेलमा बंगलादेशका लागि सुमा रेजाले ९ औं मिनेटमा गोल गरेका थिए । नेपाली टोलीका अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन् । उनको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको हो ।
साफ उपाधिका लागि अब नेपाल र भारतबिच शनिवार राति प्रतिस्पर्धा हुनेछ ।





