साइकलयात्रा गरी मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

भरतपुर, २४ असोज ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा भरतपुरमा साइकलयात्रा सम्पन्न गरिएको छ । हरेक वर्षको अक्टोबर १० तारिखका दिन मनाइने उक्त दिवसको अवसरमा भरतपुर अस्पताल, चितवन मेकिडल कलेज शिक्षण अस्पतालको मनोरोग विभाग, एक सपना साइकल र सफा नेपालको, प्राइम नेपाल तथा वाह वाइकको आयोजनामा आइतबार साइकल यात्रा सम्पन्न गरिएको हो । यात्रामा आइडियाज फर सीएमसीको पनि सहआयोजना रहेको थियो ।

आइतबार बिहान नारायणघाटस्थित पोखरा बसपार्कबाट सुरु भएको साइकल यात्रा पुल्चोक, चौबिसकोठी चोक, मितेरी चोक, दूरसञ्चार रोड र बाइपास रोड हुँदै भरतपुर अस्पतालमा पुगी सम्पन्न भएको थियो । यात्रामा ५५ जना साइकलयात्रीको सहभागिता रहेको थियो । मानसिक स्वास्थ्य दिवसको यस वर्षको नारा असमान विश्वमा मानसिक स्वास्थय रहेको थियो ।

साइकल यात्राको समापनपछि बोल्ने क्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मनोरोग विभागका प्रमुख डा. सीपी सेढाइँले मानसिक स्वास्थ्यका बारेमा विश्वका सबै गम्भीर हुनुपर्ने विचार राखे । मानिसलाई अशक्त बनाउन सक्ने विभिन्न स्वास्थ्य समस्याहरूमा मानसिक रोग पनि पर्ने भएकाले मानसिक स्वास्थ्यको बारेमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । “मान्छेमा अशक्तता ल्याउन सक्ने विभिन्न १० समस्यामध्ये पाँच वटा मानसिक स्वास्थ्यसँग जोडिएका छन् । सिजोफ्रेनिया, डिप्रेसन, बाइपोलर डिसअर्डर, डिमेन्सिया र लागूपदार्थ दुव्र्यसनीको समस्या भएका मानिसहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ”, डा. सेढाइँले भने । मानसिक रोगमा सामान्य टाउको दुखाइदेखि हदैसम्मको समस्या हुनसक्ने उनको तर्क थियो ।

“मानसिक रोगका थुप्रै प्रकार हुन्छन् । कहिलेकाहीँ टाउको दुख्नु र दिक्क लाग्नु मानसिक रोगअन्तर्गत पनि पर्न सक्छन् । तर मानिसहरू अझै पनि मानसिक रोग भन्ने बित्तिकै पागलपन नै बुझ्ने गर्छन् । यस्ता भ्रमलाई चिर्न अति आवश्यक भएको छ”, उनले थपे । मानसिक रोगीले उपचार पाएमा जस्तोसुकै कडा भनिएको रोग पनि निको हुने उनले बताए । मानसिक रोगको पहिचान गर्न समेत समस्या हुने भएकाले सबै रोगीले सही उपचार पाउन नसक्ने जोखिम पनि रहेको उनले सुनाए । “शरीरको कुनै भाग दुखेको भनी अस्पताल पुगेका कतिपयमा एक्सरे र विभिन्न स्क्यान गराउँदा पनि समस्याको कारक के हो भन्ने पत्ता लाग्दैन । व्यक्तिमा मानसिक समस्या हुन्छ तर मानसिक रोगका लक्षण यति बृहत् हुन्छन् कि जो कोही चिकित्सकले रोग नै ठम्याउन सक्दैनन्”, उनले अगाडि थप्दै भने, “त्यस्तो बेला बिरामीले डाक्टरलाई नै सराप्दै हिँडेको पनि हामीले देखेका छौं ।”

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण पनि चिन्ता र तनाबका बिरामी बढ्न थालेको डा. सीपी सेढाइँले बताए । “महामारी सुरु भएदेखि नै यति संख्यामा संक्रमित थपिए वा मरे भनेर सुन्नमा आउने गरेको छ । त्यसले ससाना बालबालिकाको मस्तिष्कमा राम्रो असर पारेको छैन । अझ कोरोना संक्रमित भई निको भएकामा समेत मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएका छन्”, उनले सुनाए । यस्तै लागूपर्दाथको दुव्र्यसनीले समेत मानसिक समस्या गराउने भएकाले त्यस्ता प्रतिबन्धित समग्रीको ओसारपसार तथा सेवनलाई रोक्न प्रहरी, प्रशासन तथा सरकारको पनि सहयोगको आवश्यकता पर्ने उनले बताए ।

भरतपुर अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. सुनिल कुमार शाहले नेपालले विगतमा भोगेको द्वन्द्व तथा थरीथरीका विपत्को कारण पनि मानिसहरूको मानसिक स्वास्थ्यमा असर पुगेको औँल्याए । यस्तै, देशको राजनीतिक अवस्था पनि सन्तोषजनक नभएको हुँदा नागरिकहरूमा मानसिक समस्या देखिने सम्भावना उच्च रहेको उनले सुनाए । देशभर करिब ५० प्रतिशत मानसिक रोगीले उपयुक्त मानसिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने गरेको पनि उनले बताए ।

“नागरिकमा मानसिक रोगसम्बन्धी पर्याप्त जानकारी नहुनु र उनीहरू अस्पतालसम्म नपुग्दा रोगीले उपचार पाउनबाट वञ्चित भएका छन् । यसमा हामी चिकित्सकको पनि केही कमी हुनसक्छ”, उनले भने । मानसिक रोग भनेको असाध्य रोग हो भन्ने गलत सोचाइ हटाउन पनि थप सचेतनाको आवश्यकता रहेको उनको भनाइ थियो । “मानसिक विभागमा जचाउन आउने कतिपय बिरामीले कसैले नचिनून् भनेर मुख छोपेर आउने अवस्था रहेको छ । सबैले देख्ने गरी मानसिक विभागमा प्रवेश गर्न बिरामी अझै पनि लजाउने अवस्था रहेको छ”, उनले भने ।

कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद पौडेलले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्न नहुने विचार राखे । “नेपालको विगतको संस्कृति हेर्ने हो भने सबै मानिसहरू सँगै मिलेर बस्ने चलन थियो । अब हरेक ठाउँ गाउँबाट शहर बन्दै जाँदा मानिसहरू एकअर्कासँग घुलमिल हुन छाडेका छन्”, उनले भने, “उनीहरू व्यक्तिवादी हुन थाले जसको प्रमुख असर विस्तारै मानिसहरूको मानसिक स्वास्थ्यमा पर्न थालेको छ ।” मानसिक रूपले स्वस्थ रहन योग, ध्यान र व्यायमको सहयोग लिन सकिने जनाउँदै साइकल चलाएर पनि तनाव भुल्न मद्दत पुग्ने उनले बताए । “मानिसले नयाँ सीप सिक्यो भने पनि उसको मानसिक स्वास्थ्य राम्रो हुने हुन्छ । त्यसकारण साइकल चलाउने सीपको विकासले मानसिक समस्यालाई जित्न पनि सहयोग पुर्‍याउन सक्छ”, उनले भने ।

साइकलयात्रामा साइकल अभियन्ता रुक्मिणी सापकोटा, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्ले, भरतपुर अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. सृजना भुर्तेल, प्राइम नेपालकी क्लिनिकल साइकोलोजिष्ट पारु पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट