गैंडाकोट, २२ असोज ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले जयश्री सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर सम्भावना
रहेको बताएका छन् । जयश्री सामुदायिक वनको १९ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै काफ्लेले प्राकृतिक सम्पदाको उचित व्यवस्थापन गर्न सकेमा यहाँ आन्तरिक पर्यटन भित्राउन सकिने पनि बताएका छन् ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले सामुदायिक वनले सालजातको बोटको मात्र संरक्षण नगरी फलफूलका बोट बिरुवाको पनि संरक्षणमा लाग्न आग्रह गरिन् । कँडेलले वनमा बस्ने जीवजन्तु र पर्यावरण जोगाउन पानीका मुहानहरूको संरक्षण गर्न आग्रह गरिन् ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले उपभोक्ताको हक र अधिकार हनन हुने कुनै पनि कानुन ल्याएमा आफूले सधैँ खबरदारी गर्ने बताए ।
कार्यक्रममा सचिवको प्रतिवेदन सचिव गीता दाहाल र कोषाध्यक्षको प्रतिवेदन मीनबहादुर अधिकारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सवडिभिजन वन कार्यालय प्रमुख सूर्यसिंह गुरुङ साथै दिनेशराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
कुल २६५० उपभोक्ता सदस्य रहेको सामुदायिक वनले वनपैदावारबाट प्राप्त हुने आम्दानीलाई सामाजिक विकासका कार्यक्रम, विपन्न परिवारका बालबालिकालाई अतिरिक्त कक्षा सञ्चालन, गरिब विपन्न वर्गका महिलाहरुलाई सिपमुलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरेले बताए ।
साधारणसभामा पूर्वकार्यसमिति र वन डढेलो नियन्त्रणमा सक्रिय उपभोक्ता सदस्यलाई सम्मान एवम् पुरस्कार वितरण गरिएको थियो ।
उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव गिता दाहालले गरेकी थिइन् ।




