भरतपुर, २२ असोज
बिहेपछिको भोजमा गरिने फजुल खर्च कटाएर चितवनका एक नवविवाहिता जोडीले परोपकारमा खर्च गरेका छन् ।
हिजो २१ असोजमा बिहे गरेका भरतपुर–२ का अमृत काफ्ले र भरतपुर–१२ की सविना अधिकारीले असहायहरूको सहायता केन्द्र चितवन मानव सेवा आश्रममा आश्रितलाई सहयोग गरेका हुन् । आश्रममा आश्रित ४५ जना व्यक्तिहरूलाई १ महिनासम्मका लागि पुग्ने खाना तथा खाजाको बन्दोबस्त यी नवविवाहिता जोडीले गरिदिएका हुन् ।
शुभकार्यपछि भोज गर्ने आम प्रचलन छ । “तर, त्यस्ता खर्च कटाएर असहायलाई सहयोग गर्न मन लाग्यो”, काफ्लेले भने, “हामी दुबैको मनखुसीले यो सहयोग गरेका हौँ ।” उनीहरूले बिहेको भोलिपल्टै आश्रम पुगेर उपाध्यक्ष विनोद ढकाललाई सहयोग हस्तान्तरण गरे ।
काफ्ले र अधिकारी दुबै मेडिकल क्षेत्रमा काम गर्छन् । हरेक शुभ कार्यमा गरिने अस्वाभाविक खर्च कटाउन सके धेरै सामाजिक काम गर्न सकिने सविना बताउँछिन् । “सामाजिक प्रेरणाका लागि पनि यो काम गरेका हौँ”, उनले भनिन् ।
भरतपुर–९, संगमटोलमा रहेको चितवन मानव सेवा आश्रमले असहाय व्यक्तिहरूलाई लामो समयदेखि आवासीय सेवासुविधा दिई राखिरहेको छ । उनीहरूलाई आवास, खाना, स्वास्थ्योपचारसँगै आवश्यक सबै सुविधा त्यहीँ उपलब्ध गराइन्छ ।
उपाध्यक्ष ढकालले आगामी दिनमा अन्य व्यक्तिहरूले पनि यो घटनाबाट प्रेरणा लिनुपर्ने बताए । यस्तै सहयोगी मनहरूका कारण परोपकार सम्भव भएको उनले बताए ।




