भरतपुर, २२ असोज ।
चिकित्सक भन्ने बित्तिकै तपाइँ के कुरा सम्झनुहुन्छ ? धेरैले भन्लान् कि चिकित्सक ती व्यक्ति हुन् जसले रोगी तथा बिरामीलाई जाँच्छन्, व्यक्तिमा रोग भएको/नभएको निधो गरी रोग भएका खण्डमा औषधि सुझाएर रोगको निदान गर्नमा मद्दत पुर्याउँछन् । विभिन्न शारीरिक तथा मानसिक समस्याका बारेमा परामर्श दिने व्यक्तिलाई डाक्टरको रूपमा बुझ्ने पनि चलन रहँदै आएको छ ।
तर भरतपुर महानगरपालिका–४ वैदिकनगर निवासी २८ वर्षीय डा. सुजन अधिकारीले बिरामी जाँच्ने र तिनलाई औषधि लेखिदिने काम गर्दैनन् । न त उनी बिरामीको रक्तचाप परीक्षण गर्ने, बिरामीलाई लामो सास फेर्न लगाउने, बिरामीले भोग्ने गरेका लक्षण तथा समस्याका बारेमा सोध्ने जस्ता काम नै गर्छन् । सामान्यतः चिकित्सकले बिरामीलाई उसको अस्वस्थताबाट निको पारी तिनको आयु लम्ब्याउन मद्दत गर्छन् तर डा. अधिकारी आयु सकिएका मानिसहरूको शव चिरफार गरेर मृत्युको कारण पत्ता लगाउने काम गर्छन् । अधिकारी विगत चार वर्षदेखि भरतपुर अस्पतालको फरेन्सिक विभाग प्रमुखको हैसियतमा काम गरिरहेका छन् । उनको प्रमुख काम भनेकै परीक्षणका लागि ल्याइएका शवको चिरफर गरी प्रहरी अनुसन्धानमा सहयोग पुर्याउनु हो ।
चीनमा एमबीबीएस पूरा गरेर नेपाल फर्किएका अधिकारीले चार वर्षअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक सम्बन्धी तालिम लिएका थिए । संयोगले भनौं तालिम सकिएको केही समयमै भरतपुर अस्पतालले फरेन्सिक विभागको लागि कर्मचारी माग ग¥यो । सुखद कुरा भनौं उनी परीक्षामार्फत् छनौट भए । २४ वर्षको उमेरमै फरेन्सिक क्षेत्रमा प्रवेश गर्न पुगेका उनको सुरुवाती लक्ष्यमा फरेन्सिक विभाग पर्दैनथ्यो । “पहिले अरु नै कुनै विभागमा काम गरुँला भन्ने थियो । तर बाध्यता र परिस्थितिले फरेन्सिक विभागतिर डो¥यायो”, उनी भन्छन् । डा. अधिकारीको पातलो शरीर देख्दा कतिपय अवस्थामा मानिसहरूले उनी चिकित्सक हुन् भनेर सहजै नपत्याउने गरेको उनी हाँस्दै सुनाउँछन् । “पोस्टमोर्टमका लागि विशेषज्ञ चिकित्सककै आवश्यकता पर्ने भएपनि अस्पतालमा फरेन्सिक विज्ञ नहुँदा सबै काम मैले नै हेरिरहेको छु । सानो उमेरमै फरेन्सिक क्षेत्रमा प्रवेश गर्दा सुरुमा अप्ठेरो लागेको थियो । अब चाहिँ फरेन्सिकमै आफ्नो करियर बनाउने सोच बनाएको छु”, उनी बताउँछन् ।

नेपालको कानूनमा कर्तव्य वा दुर्घटना भई, आत्महत्या गरी वा कुनै अपराधको परिणाम स्वरूप शंकास्पद स्थितिमा मरेको व्यक्तिको शवलाई प्रहरी कार्यालयको कम्तीमा प्रहरी नायब निरीक्षकको दर्जाको प्रहरीले लासको मुचुल्का उठाई शव परीक्षणका लागि सरकारी चिकित्सककहाँ पु¥याउनुपर्ने व्यवस्था रहेको छ । कतिपय शवहरू गलेको अवस्थामा समेत आइपुग्ने गरेको बताउँदै सुरुवाती दिनमा शव चिरफार गर्दा केही घिन र डर भने लागेको उनी बताउँछन् ।
“सुरुसुरुमा शव चिर्नुपर्दा एकदमै अप्ठेरो लागेको थियो । त्यो बेला मभन्दा माथिल्लो तहका डाक्टरहरूले नआत्तिन सल्लाह दिनुहुन्थ्यो । मेडिकल क्षेत्र बाहिरका मानिसहरूसँग भेट हुँदा शव चिरफार गर्न डर लाग्दैन भनेर सोध्ने गर्थे”, उनी अगाडि थप्छन्, “दिनभरि शवकै वरिपरि हुनुपर्दा कहिलेकाहीँ खराब सपना देखिने, तनाब हुने जस्ता समस्या पनि देखिएका थिए । एक दिन दुई दिन गर्दै गएपछि भने बानी पर्न थाल्यो । प्रहरी अनुसन्धानलाई निचोडमा पु¥याउन चिकित्सकको रूपमा आफ्नो तर्फबाट केही सहयोग गर्न पाएको छु भन्ने सम्झँदा पनि केही खुशी लागेर आउँछ ।”
भरतपुर अस्पतालमा काम गर्न थालको ४ वर्षको अवधिमा डा. अधिकारीले १ हजार ५०० भन्दा बढी शवको चिरफार गरिसकेको बताउँछन् । फरेन्सिक विभाग अति संवेदनशील क्षेत्र भएकाले काम गर्दा मानवीय संवेदना देखाउन नमिल्ने पनि उनले सुनाए । “दिनमा परीक्षणका लागि औसत जसो २–३ वटा शव आइरहन्छन् । कहिलेकाहीँ एकैदिनमा ७–८ वटासम्म पनि शव चिरफार गरेर सक्नुपर्ने हुन्छ”, उनी भन्छन्, “कहिलेकाहीँ सानो बच्चाको शवको चिरफार गर्नुपर्ने हुन्छ । त्यस्तो बेला नमज्जा लागेर आउँछ । कहिले काँटी घाँटीमा अड्किएर मृत्यु वरण गरेका बच्चा देख्छु । कुनै चमत्कार भएर त्यो बच्चा बाँचिदिएहुन्थ्यो वा उठिदिएहुन्थ्यो भन्ने मनमा लागिरहन्छ ।”
अस्पतालहरूमा फरेन्सिक विभागलाई खासै महत्त्व नदिइने गरेकोप्रति भने आफ्नो गुनासो रहेको उनी सुनाउँछन् ।
“नेपालका अस्पतालहरूमा सबैभन्दा पिछडिएको विभाग नै फरेन्सिक विभाग हो जस्तो लाग्छ । विभागको सरसफाइदेखि स्तरोन्नतिसम्म थोरै पनि वास्ता गरिएको हुँदैन । शवगृहमा शव भण्डारणका लागि फ्रिज थपौं भनेर पटकपटक आग्रह गर्दा केही सुनुवाइ भएको जस्तो देखिएको छ । पहिलेभन्दा केही हेर्न लायक भएको छ”, उनी सुनाउँछन् । उनका अनुसार हाल अस्पतालमा १५ शव क्षमताको शवगृह रहेको छ । वारिसे शवलाई आफन्तको जिम्मा लगाइने गरेको तथा बेवारिशे शवलाई दाबी गर्न ३० देखि ३५ दिनभित्रसम्म पनि कोही नआएको अवस्थामा प्रहरी र महानगरपालिकाको समन्वयमा सदगद गर्ने गरिएको उनले जानकारी दिए ।
पछिल्ला केही वर्षहरूमा आत्महत्याका केसहरू बढेकोप्रति भने उनले चिन्ता व्यक्त गर्ने गरेका छन् । “पछिल्लो दुई वर्षमा हेर्ने हो भने सवारी दुर्घटनाको तुलनामा आत्महत्या गर्नेको संख्या एकदमै बढेको पाएको छु । झुण्डिएर र विष सेवन गरेर आत्महत्या गरेकाहरूको शव परीक्षणका लागि दैनिक जसो आउने गरेका छन् । आत्महत्या गरेका ७/८ वर्षका बालबालिकादेखि ९५ वर्षसम्मका ज्येष्ठ नागरिकको पोष्ट मोर्टम गरेको छु”, दुःखी हुँदै उनी थप्छन्, “पोष्टमोर्टमका लागि आउने आत्महत्याका अधिकांश केसहरू युवावस्थाका नागरिकहरूको हुने गरेका छन् । देशका जनशक्तिले आत्महत्या गर्दै मर्नु कुनै पनि दृष्टिकोणले राम्रो होइन । आत्महत्यालाई कसरी निरुत्साहित गर्न सकिन्छ, त्यसतर्फ सरकारले चाँडै कदम चाल्नुपर्ने देखिन्छ ।”




