कविता: फेरि उही मोडमा

त्यही मोडमा आइपुगेको छु फेरि
जहाँबाट छुटेको थिएँ म
गह्रौँ मन लिएर केही वर्षअघि

अस्पतालको बार्दलीभित्र कैद रहन्छु
बाहिर कल्याङकुलुङ सधैँ मडारिरहन्छ
सधैँ चियाइरहेछन् जस्तो लाग्छ
भिजेका केही थान नाङ्गा आँखाहरुले !

आशाको विश्राम लिन खोज्नेहरु त थिए सधैँ
मलाई दु:ख बिसाउने चौतारो मान्नेहरू पनि थिए
प्राय: कुम, कम्मर र घुँडा दुखेका जनहरु हुन्थे
मेरुदण्ड टुटेर अभिसप्त बनेका मनहरु हुन्थे
हेर्थे भिजेका केही थान नाङ्गा आँखाहरूले !

ढिकी-जाँतो जस्तै घाँटीमा‌ भिर्ने आला
बिरामी र आफन्तहरुको विश्वासको माला
गुथेको त बिसौँ वर्ष कटिसक्यो तर
जब म फर्किन्छु फेरि उही मोडमा
अस्पताल सम्हाल्छु र बनाउँछु भन्ने होडमा
अनि अझ बढी चियाइरहन्छन्
भिजेका केही थान नाङ्गा आँखाहरूले !

सम्वेदना पनि विचित्रसँग गायब हुन्छ कतै
जहाँ भित्रभित्रै  फुटेर मुटु रक्ताम्य हुँदा
फुटेर कम्मरको हाडनशा धुलाम्मे हुँदा
‘आह’ भन्न सक्दैन मान्छे
तर घोचिरहन्छ यही फेरोमा कतै
भिजेका केही थान नाङ्गा आँखाहरूले!

यी भीडहरूसँग नाता तोडूँ भनेको थिएँ
जहाँ थोरै अक्सिजन मागेर धेरै बाँच्छु भन्दा
नामर्द हुन्छन् सबै जीवनवायुको जोहो गर्न
बरु अस्पताल गेटको ढुंगाको प्राण देख्छन्
सजिव सेवाअनुग्रहितहरुको हृदय खोज्दैनन्
सम्वेदना हराएको मान्छेहरुको भीड
फेरि देख्छु भिजेका केही थान नाङ्गा आँखाहरू !

यहाँ काम गर्दा कोहोलो मच्चाउनेहरू पनि छन्
गरोस्भन्दा नगरोस् भन्नेको भीड काफी छ
भीडहरूबाट भाग्नु पनि त गाह्रै रहेछ
यो त आँफैसँग वा जीवनसँग भाग्नु पनि रहेछ
यसैले पुन: त्यही भीडमा मिसिएको छु
शुभयात्रा, शुभकामना छ मलाई
फेरि उही मोडको यात्रा गर्नु छ
जहाँ लम्पसार छन् थुप्रै यात्रीहरू
भिजेका केही थान नाङ्गा आँखाहरू लिएर ।

(कवि पाैडेल भरतपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन्।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट