‘श्वेतशार्दुल : मदन भण्डारीको जीवन’ सार्वजनिक

भरतपुर, ६ असोज ।
लेखक रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दुलः मदन भण्डारीको जीवन’ बजारमा आएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै ओलीले लेखकले गरेको मिहिनेत प्रशंसनीय रहेको बताए । लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरु, भेटेका मान्छेहरुले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो ।

मदन भण्डारीका बारेमा अध्ययन, अनुसन्धान र खोज गरेर पुस्तक लेखेर लेखक राईले वामपन्थी आन्दोलनलाई गुन लगाएको बताए ।

पुस्तकमा टिप्पणी गर्दै नेकपा (एमाले) की नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नै पर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक धेरै सहयोगी हुने बताइन् । पुस्तकका विभिन्न खण्डमा भएका प्रसंगहरुलाई उल्लेख गर्दै नेता पाण्डेले मदन भण्डारी प्रशंसा भन्दा स्वच्छ आलोचनालाई प्रोत्साहन गर्ने व्यक्ति भएको बताइन् ।

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नै पर्ने बताए । उनले व्यवहारिक राजनीति मदन भण्डारीको विशेषता भएको बताउँदै आजको वामपन्थी आन्दोलनलाई थुप्रै मदनहरुको आवश्यकता रहेको बताए। लेखकले निकै मिहिनेतका साथ पुस्तक लेखनको काम गरेको बताउँदै उनले मदनको नाम लिइरहँदा मदन कसरी मदन भए भनेर बुझ्न यो पुस्तकले सघाउने धारणा व्यक्त गरे ।

राईले पुस्तक सार्वजनिक समारोहमा बोल्दै मदन भण्डारीका बारेमा लेखिन बाँकी धेरै भएकाले यो पुस्तक नै सबैथोक हो भन्ने भ्रममा आफू पनि नरहेको र अरुलाई पनि नरहन सचेत गराए ।

सांग्रिला बुक्सद्वारा प्रकाशित यस पुस्तक नेपाली राजनीतिका प्रखर तथा गतिशिल पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।

राजनीति र विकासका स्वतन्त्र अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्न छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट