भरतपुर, ५ असोज ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोपमा अदालतबाट दोषी ठहर भएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले नुवाकोटको विदुर नगरपालिकाका ४५ वर्षीय राजेन्द्रकुमार पण्डितलाई पक्राउ गरेको हो । ११ वर्षअघि श्रेष्ठलाई १९ दिनसम्म बन्धक बनाई एक करोड १० लाख रुपैयाँ बराबरको साढे ३ केजी सुन फिरौतीबापत पाएपछि मुक्त गरिएको थियो ।
अपहरणकारीले श्रेष्ठलाई तत्कालीन भरतपुर नगरपालिकाको हाकिमचोकस्थित हिमचुली विकास बैंक नजिकैबाट १२/१५ जनाको समूहले अपहरण गरेको थियो ।
पुनरावेदन अदालत हेटौँडाले पण्डितलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।





