काठमाडौँ, ६ असोज ।
नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’
परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ बुधबार नै हुनेछ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । 





