चितवनमा वैशाखयता भदौमा थपिए कोरोनाका न्यूनतम संक्रमित

भरतपुर, ५ असोज ।

चितवन जिल्लामा गएको वैशाख महिनायता भदौमा कोरोना भाइरसका सबैभन्दा कम २ हजार १११ जना संक्रमित थपिएका छन् । जिल्लामा साउन महिनामा हालसम्मकै सर्वाधिक संक्रमित थपिएकामा भदौमा अघिल्लो महिनाको तुलनामा करिब ६० प्रतिशत थोरैमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७८ साउनमा ५ हजार २६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यो संख्या चितवन जिल्लामा कोरोना भाइरस महामारीको दुवै लहरमा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार महामारीको पहिलो लहर चलिरहँदा जिल्लामा २०७७ कार्तिकमा सबै भन्दा धेरै २ हजार १५८ जना संक्रमित थपिएका थिए ।

गत वैशाखभर ४ हजार १७७ जनामा संक्रमण पुष्टि भएकोमा जेठमा ३ हजार ८८१ र असारमा ३ हजार ४२ जना संक्रमित थपिएका थिए । “भाइरसको प्रकृति भनेको सकेसम्म धेरै मानिसमा फैलनु हो । संक्रमण उच्चतम विन्दुमा पुगेपछि भाइरस विस्तारै कमजोर हुँदै जाने हुन्छ”, स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए, “त्यही कारण भदौ महिनामा संक्रमितको संख्यमा कमी आएको हो ।” संक्रमण दरमा कमी आउनुको पछाडिमा मानिसहरूमा विकास हुन थालेको रोगप्रधिरोधी क्षमता पनि रहेको तिवारीले जानकारी दिए ।

“स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो सिरोप्रिभलेन्स सर्वेक्षणले देशभरबाट संकलित नमूनामध्ये ६८.६ प्रतिशतमा एन्टिबडी पाइएको बताएको छ । तर कूल जनसंख्याको करिब २० प्रतिशतले मात्रै खोप लगाएका छन्”, उनले अगाडि थपे, “यसरी हेर्दा बाँकीमा प्राकृतिक रूपले नै एन्टिबडी बन्न थालेकाले संक्रमण फैलिने दरमा कमी आउन पुगेको हुनुपर्छ ।” संक्रमित भएर निको भएकामा पनि एन्टिबडी बन्न थालेको हुनाले संक्रमण फैलिने दरमा कमी आएको हुनसक्ने तर्क उनले काटे ।

गएको साउन महिनामा जिल्लाभरका सक्रिय संक्रमितको संख्या २ हजार ५०० को आसपाससम्म पुगेको थियो । जबकी महामारी नियन्त्रणमा रहेको जनाउन सक्रिय संक्रमितको संख्या ५०० भन्दा कम हुनुपर्ने तिवारी बताउँछन् । “सक्रिय संक्रमित धेरै हुँदा संक्रमण फैलने जोखिम पनि धेरै हुन्छ । सक्रिय संक्रमितको संख्यामा कमी देखिन थाल्नुले महामारी नियन्त्रण उन्मुख रहेको संकेत गरेको छ”, उनले भने । नयाँ संक्रमित थपिने दरमा कमी आउन थालेको भएपनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्न नहुने उनले बताए । “बजार, विद्यालय भर्खरै खुल्न थालेका छन् । संक्रमणको अवस्था कस्तो रहन्छ भन्ने हेरेर अरु सेवामाथि लगाइएका बन्देज खुकुलो गर्दै लैजाने छौं”, तिवारीले भने ।

जिल्लामा हालसम्म कूल जनसंख्याको करिब ३० प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको जनाउँदै तिवारीले करिब एक देखि दुई महिनाभित्र जिल्लाका १८ वर्षमाथिका सबैले एक मात्रा खोप लगाइसक्ने उल्लेख गरे । “खोपको आपूर्ति सहज रह्यो भने निकट भविष्यमा सबैलाई पहिलो मात्राको खोप लगाइसक्ने छौं । ३५ वर्षमाथिका अधिकांश नागरिक विभिन्न पेशामा आबद्ध भएकाले धेरैले खोप पाइसकेको अवस्था छ”, उनले अगाडि भने, “खोप पाउन बाँकी रहेकाको संख्या पनि विस्तारै घट्ने क्रममा छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट