तनहुँ, २४ भदौ ।
कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ ।
आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा वरिष्ठ कवि प्रमोद प्रधान, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो ।
३५ वटा कविता संग्रहित उक्त कृतिबारे वरिष्ठ कवि प्रमोद प्रधानले नेपाली कवितामा क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा चित्रण गरे ।
उनले भने, ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अझै सशक्त भएर प्रस्तुत भएका छन् ।’
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे । समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने बिचार गम्भीर र अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
अर्का समीक्षक भीम रानाभाटले अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको बताए । उक्त कृति विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।
आँबुखैरेनी स्रष्टा समाजका अध्यक्षसमेत रहेका श्रेष्ठका यसअघि `राष्ट्रले शोकधुन बजाएको छ´ (कवितासङ्ग्रह –२०५१), `मृत्युपर्व होइन मेरो देश´ (कवितासङ्ग्रह –२०५५), `आरु फुलेको साँझ´ (कवितासङ्ग्रह –२०६३), `मफलर युद्ध´ (कवितासङ्ग्रह –२०६९), `प्रतिनिधि कविता´ (कवितासङ्ग्रह –२०७३), `टाइगर हिलकी पुनम´ (निबन्ध सङ्ग्रह) र `फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु´ कृति प्रकाशित छन् ।





