सरकारको धारणा सार्वजनिक नभई एमालेले एमसीसी बारे नबोल्ने : एमाले अध्यक्ष ओली

काठमाडौँ, २४ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलका क्रममा ओलीले त्यस्तो जवाफ दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका हुन् ।

बालकोटस्थित ओली निवासमा सुमारको टोली एमसीसीबारे छलफलका लागि पुगेको थियो । बिहीबार नेपाल आएको सुमारको टोलीले पहिलो भेट ओलीसँग गरेको थियो ।

भेटमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहित जिज्ञासा सुमारले राखेको र त्यसको जवाफमा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएको भट्टराईले उल्लेख गरे ।

“उनीहरूले कुरा राखिसकेपछि अध्यक्षले एमसीसी अगाडि लैजाने विषयमा हामी सरकारमा हुँदा जुन भूमिका थियो, हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तिमीहरूलाई पनि थाहा छँदैछ भन्नुभयो”, भट्टराईले ओलीको भनाइ उल्लेख गर्दै थपे, “अहिले हामी त विपक्षमा छौं । सरकारले यस विषयमा के धारणा बनाएको छ ? सरकार कसरी अगाडि बढ्न चाहेको छ ? हामीसित उसले कुनै प्रस्ताव ल्याएको छैन । छलफल पनि गरेको छैन । अब सरकारले सरकारमा रहेकाहरूको प्रस्ताव के हो भन्ने कुरा निश्चित नभईकन हामीले यो हो भनेर धारणा बनाउने कुरा त्यति परिपक्व कुरा हुँदैन ।”

सरकारले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षले आफ्नो सार्वजनिक गर्ने जवाफ एमसीसीको उपाध्यक्षको टोलीलाई दिइएको भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभामा सरकारसँग बहुमत रहेको र उसले एमालेको साथ नखोजेको हुन सक्ने पनि ओलीले बताएको भट्टराईले उल्लेख गरे । एमसीसी उपाध्यक्षसँगको भेटमा एमालेका तर्फबाट ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, सूर्य थापा लगायत थिए ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट