हेटौँडा, २४ भदौ ।
पाटन उच्च अदालतको हेटौंडा इजलासले हत्या मुद्दामा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद सजाय गर्ने सैनिक अदालतको फैसला मगाएको छ । हत्या मुद्दा सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने दाबीसहित उच्च सरकारी वकीलको कार्यालयले दर्ता गराएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले फैसला मगाएको हो ।
हेटौंडा इजलासका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र चण्डीराज ढकालको इजलासले सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद सजाय गर्ने समरी जनरल सैनिक अदालतको भदौ १६ को फैसला मगाएको हो । ढकालमाथि नेपाली सेनाको कालीबहादुर गण भरतपुर चितवनबाट तीन वर्षअघि हतियार चोरी गरेको र त्यही हतियार प्रयोग गरी सेनाको हुद्दा पदमा कार्यरत भरत गुरुङलाई हत्या गरेको अभियोग लागेको छ । ढकालले आफूमाथिका सबै अभियोग स्वीकार गरेका छन् । उनले साउन ७ गते गुरुङको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए ।
सैनिक ऐन, २०६३ को दफा ५१ अनुसार हतियार चोरी मुद्दामा सुनुवाइ गरी फैसला गर्ने अधिकार सैनिक अदालतलाई हुन्छ । तर, त्यही ऐनको दफा ६६ ले हत्या, बलात्कार, अपहरण र यातना मुद्दाको अभियोजन र सुनुवाइ सैनिक अदालतमा नहुने व्यवस्था गरेको छ । जसको अर्थ ढकाललाई लगाइएको गुरुङको हत्या अभियोगमाथिको सुनुवाइ जिल्ला अदालतमा हुनुपर्छ भन्ने हो । यही दाबीसहित सरकारी वकीलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको भए पनि जिल्ला अदालतले भदौ १ गते अभियुक्त ढकाल र त्यससम्बन्धी सबै सक्कल फाइल नेपाली सेनाको अदालतलाई बुझाउन आदेश दिएको थियो ।
(इकान्तिपुर डट कमको सहयोगमा)





