भरतपुर, २४ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी हरितालिका तीज मनाउन आग्रह गर्नुभएको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज शुुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
तीज पर्वले चेली-माइती‚ साथी-संगी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउने उनले उल्लेख गरेकी छन् ।
समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न तीजले मद्दत पुर्याउने राष्ट्रपतिको विश्वास छ । ‘यसर्थ हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ‘ – सन्देशमा लेखिएको छ ।
हरितालिका तीजले समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य‚ समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् । कोभिड-१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सावधानी साथ तीज मनाउन उनले आग्रह गरेकी छन् ।
तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि उनले शुभकामना दिएकी छन् ।
सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण ठाउँ रहेको उनले उल्लेख गरेकी छन् ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास छ । विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।





