आज हरितालिका तीज मनाईंदै

भरतपुर, २४ भदौ ।
नेपाली हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज देवादीदेव महादेवको पूजा आराधना गरी मनाईंदैछ ।

हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।

परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्‍वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्‍ने चलन छ । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजको दिन शिवालयमा गइ भगवान शिवको पूजाआजा गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालययमा हरेक वर्ष व्रतालुको ठूलो भीड लाग्ने गर्छ ।

तर अघिल्लो वर्षजस्तै यो वर्ष पनि कोभिडले तीज पूरै सुनसान छ । तीजको रमझम र चहलपहल खासै छैन । यद्यपि सरकारले धेरै ठाउँमा निषेधाज्ञा खोलेका कारण कतै कतै भने रमाइलो गरेको देखिन्छ ।

भीडभाडले संक्रमण फैलिन सक्ने कुरालाई ध्यान दिँदै घरमै महादेवको पूजा आराधना गरी तीन मनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिन सक्ने भन्दै परिवारसँग मात्रै बसेर तीज मनाउन पटक पटक अपिल गर्दै आएको छ ।

दरखाने दिनसँगै औपचारिक रुपमा शुरु हुने तीज ऋषिपञ्‍चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरेर तीज सकिन्छ ।

तीजको अघिल्लो दिन हिजो दर खाइएको छ । सो दिन चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई र मावलीले चेली -भान्जीलाई बोलाउने र दर खुवाउने गर्छन् ।

तीजको अवसरमा नेपाली नारीले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमार्फत पोख्‍ने गर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट