भरतपुर, २२ भदौ।
चितवनका स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित ३६ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा चितवनका चार स्थानीय तहका ३६ जनप्रतिनिधिले सनाखत गरेका हुन् ।चितवनका सात स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जनप्रतिनिधि कसैले पनि एकीकृत समाजवादीमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चितवनमा स्थानीय तहको चुनावमा एमालेबाट निर्वाचित तीन सय नौ जना जनप्रतिनिधिमध्ये ११ जना वडा अध्यक्षसहित २५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।
एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरूमा भरतपुर महानगरपालिकामा पाँच वडा अध्यक्ष र वडा सदस्यहरू १० जना, रत्ननगर नगरपालिकामा चार वडा अध्यक्ष र १२ वडासदस्यहरू, राप्ती नगरपालिकामा एक वडा अध्यक्ष र एक जना वडा सदस्य रहेका छन् । त्यस्तै, माडी नगरपालिकामा एक वडा अध्यक्ष र दुई वडा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नयाँ दर्ता भएको दल रोज्न जनप्रतिनिधिलाई दिइएको समय सीमा मंगलबार सकिएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि निर्वाचन आयोगले दल दर्ता भएको मितिले २१ दिनको अवधि तोकेको थियो ।




