चितवन टाइगर्सले लग्यो चितवनका ५ खेलाडी

भरतपुर, २२ भदौ
एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि चितवनबाट ५ जनालाई क्लोजक्याम्पमा लगेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ती खेलाडीहरूमध्ये ४ जनाबाट १ जनालाई टिममा समेटिने छ । बाँकी एकजना भने टिममा परिसकेका छन् ।

मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनौट भएका छन् । त्यसमध्ये गौतमलाई यसअघि नै चितवनले ५० हजार रुपैयाँमा अनुबन्ध गरिसकेको टिमका प्रमुख किशोर भट्टराईले जानकारी दिए । बाँकी चार खेलाडीलाई यही भदौ २५ बाट काठमाडौँमा क्लोजक्याम्पमा सहभागी गराएर असोज २ गते एकजना छानिने भट्टराईले बताए ।

सो क्रममा बोल्दै भट्टराईले युवा खेलाडीहरुलाई टिमलले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीहरुलाई सिक्ने अवसर मिलेको बताए । उनले इपिएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीहरुलाई विदेशी खेलाडीहरुबाट सिक्ने मौका मिल्ने बताए ।

टिममा छानिएका २० वर्षीय गौतम नारायणगढ निवासी हुन् । दाहिने हाते तीव्र गतिका बलरको रूपमा उनले राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो प्रभाव छाडेका छन् ।

उनले नेपाल क्रिकेट संघद्वारा आयोजित भर्खरै सम्पन्न ५० ओभर प्रतियोगितामा आफ्नो प्रादेशिक टोली बागमतीको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै पछिल्लो प्राइम मिनिस्टर कपमा त्रिभुवन आर्मी क्लवरिुद्ध उनले ५–६१ को प्रदर्शन गरेका थिए ।

अन्य चार जनामध्ये १७ वर्षीय क्रिजन गुरुङ बायाँ हाते अर्थोडक्स स्पिनर तथा ब्याट्सम्यान हुन् । त्यस्तै २६ वर्षीय आकाश थापा दाहिने हाते ब्याट्सम्यान तथा मेडियम स्पिनर एवं विकेटकिपर हुन् । त्यस्तै १८ वर्षीय राजेश ढकाल दाहिने हाते ब्याट्सम्यान तथा विकेटकिपर हुन् भने स्थानीय प्रतियोगिताहरूमा राम्रो प्रभाव छोड्न सफल संघर्ष पौडेल दायाँ हाते स्पिन बलर हुन् ।

कार्यक्रममा चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आउँदो असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्समा कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दिलीप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खड्क बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) खेलाडी रहेका छन् । टिमको मुख्य प्रशिक्षक सामसन जंग थापा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट