भरतपुर, २ भदौ ।
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा (एमाले)की उपाध्यक्ष शाक्य आजै मुख्यमन्त्री नियुक्त भएकी हुन् ।
बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो ।
बागमती प्रदेशमा एमालेका बहुमत सांसद भएकाले त्यसैलाई देखाएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश सभामा कूल १०९ जना सदस्यमध्ये एमालेका ५५ जना छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नै एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । तर, बागमती प्रदेश सभामा रहेका कति जना उनको पक्षमा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन । शाक्य यसअघि नेपाल पक्षमै थिइन् । तर, उनले विभाजनमा साथ दिइनन् ।





