भरतपुर, २ भदौ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ९ घर भएका यज्ञश्वर सापकोटाले कुनै समय अमेरिकी सेनाको अफगानिस्तानमा रहेको क्याम्पमा कुकको काम गर्ने गर्दथे । २०६२/६३ कोे जनआन्दोलन सुरु हुँदै गर्दा उनी रोजगारको शिलशिलामा पोर्चुगल जाने तयारीमा थिए । काठमाडौँबाट दिल्लीसम्म पुग्दा उनी युरोप पुगिनेमा विश्वस्त थिए । तर दिल्ली पुगेपछि एजेन्टले युरोप लैजान नसक्ने बताएपछि पनि छाँगोबाट खसेझैँ भए ।
त्यसबेला पोर्चुगल जाने भनेर उनले एजेन्टलाई करिब ४ लाख बुझाएका थिए । एजेन्टले पोर्चुगलको विकल्पमा अफगानिस्तानमा राम्रो काम दिलाइदिन्छु भनेपछि सापकोटा अफगानिस्तान पुगेको बताउँछन् ।
“२०६२ सालको चैतमा नेपालबाट उड्दा अफगानिस्तान पुगौँला भन्ने सोचेका थिएनौ । युरोप नै गइन्छ भन्नेमा ढुक्क थियौं”, उनले थप्दै अगाडि भने, “दिल्ली पुगेपछि एजेन्टले युरोप लैजान सक्दिनँ भन्यो । हामी करिब १३ जना त्यहीँ रोकियौं ।” त्यसपछि एजेन्टले आफूले आधा पैसा मात्रै फिर्ता दिन सक्ने कुरा सुनाएको सापकोटा सम्झन्छन् । युरोप जाने भनेर पहिले नै ऋणको भार लागेको बेलामा आधा पैसा लिएर नफर्किने सोच उनमा पलायो । त्यसको विकल्पमा एजेन्टले सापकोटालाई अफगानिस्तानस्थित अमेरिकी सैनिक क्याम्पमा कुकको काम दिलाउने भयो ।
पहिलो पटक अफगानिस्तान पुग्दा उनी जम्मा २० वर्षका थिए । स्वदेश भर्खरै माओवादी युद्धबाट तंग्रिँदै गरेको बेला उनी अर्काे युद्धग्रस्त क्षेत्रमा बसी काम गर्न थालेका थिए । त्यसअघि अमेरिकी सेना र तालिबानबीचको युद्धका बारेमा रेडियो र टेलिभिजनका माध्यमबाट मात्रै थाहा पाएका उनी अमेरिकी सेनाको इतिहासकै लामो युद्धको प्रत्यक्षदर्शी बन्ने क्रममा थिए ।
“अफगानिस्तानमा आर्मी क्याम्प बाहिर काम गर्न जोखिम थियो । क्याम्पभित्र जान पाए सुरक्षित नै भइन्छ भन्ने थियो”, उनले थप्दै भने, “सेनाले खाना खाने भएको ठाउँ भएकाले भान्सामा सुरक्षाको राम्रो प्रबन्ध हुने गर्दथ्यो । क्याम्प नेपालको लगभग कुनै एउटा जिल्ला जत्रै क्षेत्रफलमा फैलिएको हुन्थ्यो । क्याम्पमै बम हानेछन् भने मरिएला नत्र सुरक्षित छौं भन्ने लाग्थ्यो ।” अन्य अन्तर्राष्ट्रिय कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नेहरूका लागि भने हरेक सेकेन्ड जोखिमले भरिएको पाएको उनले सुनाए ।
अफगानिस्तानमा अमेरिकाले खडा गरेको सबैभन्दा ठूलो क्याम्प बरघाम एयरफिल्डमा सापकोटाको बसाइँ थियो । त्यस बाहेक टर्किस सेनाको दोगान क्याम्पमा पनि उनले कुकको रूपमा काम गरेका थिए । उनले ६ महिनामा एक पटक २२ दिनको लागि बिदा पाउँथे । घर फर्कँदा र घरबाट क्याम्प जाँदा मात्रै उनले बाहिरको वातावरण देख्न पाउँथे । अरुबेला उनी क्याम्पभित्रै बसिरहनुपथ्र्यो । बाहिर निस्कन छुट थिएन ।
“काबुलबाट क्याम्पसम्म जान आर्मीकै गाडी वा हेलिकप्टर आउने गर्दथ्यो । घर फर्किँदा पनि क्याम्पबाट काबुलसम्म आर्मीले नै पुर्याउने गर्थ्यो”, उनले भने । आर्मीले खाद्यान्न र पानी स्थानीय बजारबाट नभई अन्यत्रबाटै कार्गाे जहाजमा ल्याउने गरेको उनले सुनाए । सैनिकसँग हिँड्दा सैनिककै जस्तो लुगा लगाउनुपर्ने गरेको उनले सम्झिए । “आर्मीको गाडीमा हिँड्दा बुलेटप्रुफ ज्याकेट दिइन्थ्यो । क्याम्पभित्र सुरक्षित भएपनि बाहिर हिँड्दा डर हुन्थ्यो”, उनले सुनाए ।
बमको विष्फोटको ठूलो आवाज सुन्दा अनि घाइते र मृतक सेना देख्दा त्यसबेला कतै आफू पनि मरिने हो कि भन्ने डर लाग्ने गरेको उनी बताउँछन् । “बाहिर हुँदा विशेष खालको गाडीभित्र खानाको व्यवस्था गर्नुपथ्र्यो । त्यो बेला काम ६ घण्टाको भएपनि समय एकदमै लामो लाग्थ्यो । कहिलेकाँही सेनाहरूसँगै बंकर गाडीभित्र लुक्नुपथ्र्यो”, उनी सम्झन्छन्, “स्ट्रेचरमा घाइते र मृतकलाई सहकर्मी सेनाले ओसारिरहेका हुन्थे । कहिले आँखा अगाडि नै सेनाका लास देख्नुपथ्र्यो । गोली र बमले लागेर अंगभंग भएका सेना पीडाले चिच्याइरहेको देख्दा साह्रै दुःख लाग्थ्यो ।”
गएको जुलाई ६ मा अमेरिकाले आफ्ना सेनालाई फिर्ता बोलाउने नीतिअनुरूप बरघाम एयरफिल्डमा रहेको क्याम्प खालि गरायो । क्याम्प खालि गराइएको एक महिना बित्न नपाउँदै तालिबानले राजधानी काबुलसँगै देशका अधिकांश शहर कब्जा गर्न सफल भएको छ ।
तालिबानले राजधानी काबुल कब्जा गरेसँगै त्यहाँका हतासिएका नागरिकहरू भने देश छाड्न लागेका छन् । जसकारण काबुलस्थित हमिद कार्जाई विमानस्थलमा उनीहरूको ठूलो भीड लागेको थियो । अफगानिस्तानमा रहेका अमेरिकी दूतावासका कर्मचारी तथा विभिन्न कम्पनीका कर्मचारी पनि यतिबेला धमाधम फर्किन थालेका छन् । अमेरिकी दूतावास परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी कुवेत तथा दोहामा लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् । यस्तै, बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४३७ जना नेपालीलाई ब्रिटिस सेनाले उद्धार गरी बेलायत रहेको छ । काबुलमै रहेको संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा कार्यरत नेपाली सुरक्षा गार्डको अवस्था भने अझै पनि सार्वजनिक गरिएको छैन । अफगानिस्तानमा कार्यरत नेपालीको यकिन तथ्यांक नेपाल सरकारसँग नहुँदा समेत उनीहरूको उद्धारमा समस्या भएको देखिएको छ ।
हालको परिस्थतिमा सरकारले जुनसुकै हालतमा भएपनि अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धार गर्नुपर्ने यज्ञश्वर सापकोटा बताउँछन् । “देशमा रोजगारको सुनिश्चितता हुन्थ्यो भने द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली काम गर्न जान पर्दैनथ्यो होला । सरकारले त्यहाँ रहेका सबै नेपाली कामदारलाई सुरक्षित रूप स्वदेश ल्याउनुपर्छ”, सापकोटाले भने । सापकोटा हाल रोजगारीकै शिलशिलामा जापानमा बस्दै आएका छन् ।





