भरतपुर, १ भदौ ।
चितवनमा गत साउन महिनामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनले दिएको जानकारीअनुसार सवारी दुर्घटनामा नौ जना पुरुष र २ जना महिलाको मृत्यु भएको हो । साउनमा दुर्घटनाबाट २३ जना गम्भीर घाइते र ५२ जना सामन्य घाइते भएका थिए ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार एक महिनाको अवधिमा ५१ सवारी दुर्घटनामा ७८ सवारीसाधन परेका थिए । जसमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटी रहेका छन् । ठुला सवारीसाधनमा ट्रक, ट्यांकर, जिप र कार बढी दुर्घटना हुने गरेका छन् ।
चितवनमा मोटरसाइकल र स्कुटी सवारीसाधनबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको प्रमुख थापा बताउँछन् । तीव्र गतिमा सवारी चलाउने, मदिरा पिएर सवारी चलाउने र कतिपय अवस्थामा कमजोर सडकको कारणले गर्दा पनि दुर्घटना बढी हुने गरेको उनी बताउँछन् ।





